झापा- झापा गाउँपालिकामा फोनमा भएको सामान्य भनाभनले उग्र रूप लिँदा एक युवकमाथि धारिलो हतियारसहित आक्रमणको प्रयास भएको छ।
झापा गाउँपालिका–५ का २६ वर्षीय सुरेश हेमरममाथि खुकुरी र छुरी प्रहार गर्ने उद्देश्यले घरमै पुगेर घेरा हाल्ने चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शनिबार राति झापा गाउँपालिका–६ शरणामति चन्द्रबस्तीका २० वर्षीय आकाश मुर्मु आफ्ना तीन जना साथीहरूसहित हेमरमको घर पुगेका थिए।
मुर्मुको साथमा १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर विक र १८ वर्षीय रोहन कर्मकार खुकुरी तथा छुरी बोकेर पुगेका थिए। उनीहरूले हेमरमको घर घेरा हाली ज्यान मार्ने धम्की दिएका थिए।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी शरणामतिबाट खटिएको संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले हतियारसहित चारै जनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा हेमरम र मुर्मुबीच फोनमा भएको विवादकै कारण मुर्मुले साथीहरू बटुलेर आक्रमणको प्रयास गरेको खुलेको छ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ।