काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक विवरणबारे भ्रामक सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोप लागेका गोरखाका मीनकुमार गुरुङ अहिले नेपाल प्रहरीको फरार सूचीमा रहेका छन्। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर भइसकेको छ र विदेशमा रहेकाले फरार प्रतिवादीका रूपमा कानुनी प्रक्रिया अघि बढाइएको अभियोजन पक्षले जनाएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको अभियोगपत्रअनुसार गुरुङले फेसबुकमार्फत सीआईबी प्रमुखले गृहमन्त्रीको बैंक विवरण मिडियामा दिएको भन्ने दाबी गर्दै भ्रामक भिडियो र पोस्ट सार्वजनिक गरेका थिए। अभियोजन पक्षका अनुसार ती सामग्री तथ्यहीन र अफवाह फैलाउने प्रकृतिका थिए।
साइबर ब्युरोले प्राविधिक अनुसन्धानपछि उनीविरुद्ध मुद्दा अघि बढाएको हो। अनुसन्धानका क्रममा राहदानी विभाग, अध्यागमन विभाग, नेपाल राष्ट्र बैंकलगायत विभिन्न निकायसँग विवरण माग गरी प्रमाण संकलन गरिएको जनाइएको छ।
अभियोगपत्रमा मीनकुमार गुरुङ हाल विदेशमा रहेको र फरार भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार फरार प्रतिवादीका रूपमा कारबाही अघि बढाइने उल्लेख गरिएको छ। उनी पक्राउ परेपछि अदालतमा उपस्थित गराई मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाइनेछ।
सरकारी वकिल कार्यालयले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) अनुसार उनीमाथि पाँच वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय माग गरेको छ।