रुकुम पश्चिम । आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले रुकुम जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। एमालेले रुकुम पश्चिममा नन्दराम देवकोटालाई र रुकुम पूर्वमा खेममान खड्का लाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
रुकुम पूर्वमा एमालेले प्रचण्डलाई सघाउने भनिएपनि एमालेले आफ्नै उम्मेदवार खडा गर्ने एमालेका एक केन्द्रीय नेताले उज्यालोपाटी लाई जानकारी दिए। उनका अनुसार आज साँझ सम्म यस बिषयमा टुंगो लाग्ने बताए। पार्टीको केन्द्रीय निर्णयअनुसार दुवै उम्मेदवारलाई सम्बन्धित निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा उतारिने एमालेले जनाएको छ। खेममान लाई उम्मेदवार बनाउने करिब टुंगो भैसकेको बताइएको छ।
रुकुम पश्चिममा उम्मेदवार बनेका नन्दराम देवकोटा एमालेका अनुभवी तथा संगठन निर्माणमा लामो समयदेखि सक्रिय नेता मानिन्छन्। उनी हाल जिल्लाको पार्टी अध्यक्ष हुन्। स्थानीय तहदेखि जिल्ला र प्रदेशस्तरसम्म पार्टी सुदृढीकरणमा योगदान पुर्याउँदै आएका देवकोटालाई पार्टीले भरोसायोग्य उम्मेदवारको रूपमा अघि सारेको बताइएको छ।
यस्तै, रुकुम पूर्वमा उम्मेदवार घोषित खेममान पनि पार्टी संगठनमा सक्रिय रहँदै आएका नेता हुन्। उनी पार्टीको केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज समेत हुन्। जनसम्पर्क, संगठन विस्तार र स्थानीय मुद्दामा स्पष्ट धारणा राख्ने नेताको रूपमा चिनिएका खेममानलाई एमालेले चुनावी मैदानमा उतारेको हो।
एमालेका जिल्ला तथा प्रदेशस्तरीय नेताहरूले उम्मेदवार चयनसँगै चुनावी अभियानलाई तीव्र बनाइने बताएका छन्। पार्टीले विकास, सुशासन र स्थायित्वलाई मुख्य एजेन्डा बनाएर मतदातामाझ जाने तयारी गरेको छ।
एमालेको उम्मेदवार घोषणापछि रुकुमका दुवै क्षेत्रमा पुर्वमा प्रचण्ड सँग खड्का र पश्चिममा जनार्दन सँग देवकोटा चुनाव लड्ने भएका छन्। माओवादी फुटेपछि जनार्दन शर्मा र प्रचण्ड फरक फरक पार्टी बाट रुकुम बाटै चुनाव लड्ने तयारी गरिरहेका छन्।