रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४, ज्यामिरकोट टाकुरास्थित श्री जनविकास माध्यमिक विद्यालयको नाम, साइनबोर्ड र तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा भ्रामक सामग्री सार्वजनिक गरिएको भन्दै विद्यालयले गम्भीर आपत्ति जनाएको छ।
विद्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार २०८२ साल पौष ३० गते राति विद्यालयको नाम साइनबोर्डसहितको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियोमा विद्यालयसँग कुनै सम्बन्ध नभएका व्यक्तिलाई शिक्षकका रूपमा प्रस्तुत गर्दै विद्यालयको गरिमा र प्रतिष्ठामा आँच पुर्याउने सामग्री समावेश गरिएको विद्यालयको भनाइ छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार भिडियोमा देखाइएका व्यक्ति विद्यालयमा कहिल्यै शिक्षकका रूपमा संलग्न नरहेको र देखाइएको घटना पूर्ण रूपमा असत्य तथा भ्रामक रहेको स्पष्ट पारिएको छ। विद्यालयले यस किसिमको गतिविधिले पवित्र शैक्षिक संस्थाको बदनाम गराउने कार्य भएको जनाएको छ। सोही वडाका चित्र बहादुर पुनले विद्यालय लाई बदनाम बनाउन झुटो भिडियो बनाएकोले पुनलाई कानुनी कारबाहीका लागि अनुरोध गरिएको छ।
विद्यालय व्यवस्थापन समितिले विद्यालयको नाम, साइनबोर्ड तथा तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रामक सामग्री बनाउने तथा फैलाउने जो–कोहीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। विद्यालयले यस्ता झुटा र आधारहीन सामग्रीमा विश्वास नगर्न सबैलाई आग्रह गर्दै, पुनः यस्तो कार्य दोहोरिए कडा कानुनी कदम चालिने चेतावनी दिएको छ।
