वैदेशिक अध्ययनका लागि युएई पठाइदिने भन्दै विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा प्रहरीले पाँच जना शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी सञ्चालक) लाई पक्राउ गरेको छ।
विद्यार्थीलाई युएईका प्रतिष्ठित कलेजमा भर्ना गराउने र त्यहाँबाट फ्रान्स तथा अष्ट्रेलियाका विश्वविद्यालयहरूमा ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने प्रलोभन देखाइ ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको नेपाल प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जनाकारी दिए ।
उनीहरूले प्रतिव्यक्ति ८ लाखदेखि २२ लाख रुपैयाँसम्म रकम लिई विद्यार्थीलाई झुक्याएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हालसम्म १३ जना पीडितले दिएको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर नगरपालिका–६ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–३१ स्थित वेस्ट पाथ एजुकेसन प्रालिका सञ्चालक २९ वर्षीय कृष्ण थापा, कपिलवस्तु साबिक महेन्द्रकोट गाविस–१ हाल बुद्ध भूमि नगरपालिका–४ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–७ नारायण गोपाल चोकस्थित मर्करी एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक रामचन्द्र टन्डन रहेका छन्।
यसैगरी, काठमाडौँ महानगरपालिका-३१ स्थित सिटीहब एजुकेसन नेटवर्क प्रालिका सञ्चालक ३१ वर्षीय सुवास सिलवाल क्षेत्री, दार्चुला साबिक लाली गाविस-८ हाल लेकम गाउँपालिका-२ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका-२ लाजिम्पाटस्थित कान्तिपुर एब्रोड कन्सल्टेन्सी प्रालिका सञ्चालक ४८ वर्षीय हेमराज भट्ट तथा सिन्धुपाल्चोक साबिक राम्चे गाविस-६ हाल बाह्रबिसे नगरपालिका-९ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका-२ लाजिम्पाटस्थित सोही कन्सल्टेन्सीका सञ्चालक ४८ वर्षीय दामोदर ढकाल पक्राउ परेका छन्।
पक्राउ परेका सञ्चालकहरूले विद्यार्थीलाई युएईको उच्च शिक्षा मन्त्रालय तथा ‘कमिसन फर एकेडेमिक एक्रिडिटेसन’बाट स्वीकृति नै नलिएका तालिम केन्द्रहरूमा पठाउने गरेको पाइएको छ।