जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा जम्मा ११५ वटा मुद्धा दर्ता गरेर कारबाहि अगाडी बढाएको छ । मगलबार पत्रकार सम्मेलन गरेर जिप्रकाले गत साउन महिनादेखी हालसम्म गरेका गतिविधिहरुको जानकारी दिएको हो ।
प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रमेश बिष्टले कार्यालयमा दर्ता भएका मुद्धा मध्य १५ वटा जघन्य तथा गम्भीर अपराधका रहेको र महिला तथा बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित अपराधका १२ वटा र आर्थिक अपराधका १९ वटा मुद्धा दर्ता भएको बताए। घरेलु हिंसाका ३७ वटा उजुरी मध्य २९ वटा मिलापत्र गराईएको र आठ वटा थप कारबाहिको लागि अदालत पठाईएको डिएसपी बिष्टले जानकारी दिए।
त्यसैगरी विभिन्न मुद्धामा फरार ३८ जना प्रतिवादीलाई पक्राउ गरिएको र उनीहरुबाट एक लाख सात हजार ३२० रुपियाँ जरिवाना असुल गरिएको र महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फका अन्य ५२ उजुरी दर्ता भएको र सबै फछ्र्यौट भईसकेको जनाएको छ । ठाडो उजुरीतर्फ जिल्ला प्रहरी कार्यालयमा आएका ६३ र जिल्ला प्रशासन कार्यालयमार्फत आएका सात उजुरी पनि फछ्र्यौट गरिएको पत्रकार सम्मेलनमा बताईएको छ ।