रुकुम पश्चिमको आठबिसकोट नदुवा- स्याला सडकखण्ड अन्तर्गत चुफेडाँडा स्थित लैटारुख नजिक भएको जीप दुर्घटनामा ज्यान गुमाएका आठ जनाका घरपरिवार लाई नगरपालिकाले राहत वितरण गरेको छ ।
आठबिसकोट नगरपालिकाको तर्फबाट मृतकका परिवारलाई राहतस्वरूप प्रदान गरिने भनिएको रकम वितरण गरिएको छ। नगरपालिकाले प्रति मृतक परिवार २५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेको नगर प्रमुख रवि केसीले जानकारी दिए।
रुकुम खलंगा बाट स्यालाखदी आउँदै गरेको जीप गत कार्तिकमा दुर्घटना हुँदा आठ जनाले ज्यान गुमाएका थिए । नगर प्रमुख केसीले सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । नगरप्रमुख केसी आफै उपस्थित भएर आज मृतक परिवारलाई राहत रकम वितरण गरेका हुन।