काठमाडौंको बौद्धमा रहेको अन्तर्राष्ट्रिय होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि होटलले आफ्नो सेवा बन्द गरेको हो।
Advertisement
होटलका मानव संशाधन निर्देशक मोहम्द यूसुफ चौधरीद्वारा शुक्रबार जारी गरिएको सूचनामा आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख छ।
होटल मर्मत तथा पुनर्निर्माणको काम सकिएपछि मात्र पुनः सञ्चालनबारे निर्णय हुने बताइएको छ। सुरक्षाका कारणले सम्पूर्ण श्रमिकलाई अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ।