रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १४ स्थित घेत्मा स्वास्थ्य चौकीमा गएराती एक युवकले तोडफोड गरेका छन् । मादक पदार्थ सेवन गरी साउन २६ गते राती १०ः५७ बजेतिर खुँडा सहित स्वास्थ्य चौकीमा सोही वडाको ज्यामिरकोटका २४ वर्षीय तिलक मल्लले स्वास्थ्य चौकीमा तोडफोड गरेका हुन् ।
मल्लले स्वास्थ्यकर्मी माथि हातपात गर्दै ज्यान मार्ने धम्की दिदै खुडा प्रहार गर्न खोजेको स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीमा तोडफोड गर्ने मल्ललाई पक्राउ गरी आवश्यक कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मल्लले स्वास्थ्य चौकीको गेट तोडफोड गरी भित्र पसेर स्वास्थ्य चौकीको प्राङ्गणमा रहेका सामानहरू तोडफोड गरेका थिए ।
उनलाई इलाका प्रहरी कार्यालय राडीबाट आएको टोलीले सोही राती नियन्त्रणमा लिएको हो । स्वास्थ्य चौकीका ईन्चार्ज देव बहादुर चन्दका अनुसार कुर्सी, गाडी तोडफोड र स्वास्थ्यकर्मी माथि हातपात गरेको बताए । मादक पदार्थ सेवन गरी स्वास्थ्यचौकी तोडफोड गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले थप अनुसन्धान गरिरहेको बताइएको छ ।