रुपन्देहीको भैरहवा कारागारमा बन्दी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको राष्ट्रिय मानवअधिकार आयोगले बताएको छ । सोमबार कारागारको अनुगमनपछि आयोगले लामिछानेलाई न्यूनतम मानवीय सुविधा नदिएर उनको मानवअधिकार हनन गरिएको अनुगमनका क्रममा पाइएको बताएको हो ।
अनुगमनपछि आयोगकी प्रवक्ता लिली थापाले रविलाई राखिएको थुनुवा कक्षको झ्याल थुनिएको र राम्ररी हावापास हुने अवस्था समेत नरहेको बताइन् । यसअघि रवि पक्षधरले रविलाई दयनीय अवस्थामा जेलमा राखिएको दावी गरेका थिए भने उनका विरोधीले रविले जेलमा भीआइपीको सुविधा लिइरहेको उनको कक्षमा एसीसहितको सुविधा रहेको दाबी गरेका थिए ।
रविको मानवअधिकार हनन गरिएको र उनले सुविधा लिएको भन्ने परस्पर विरोधाभासपूर्ण तर्कहरु सामाजिक संजालसहित संचारमाध्यममा समेत आएपछि आयोग आफैं कारागारको अनुगमन गर्न अग्रसर भएको थियो । अनुगमनपछि मानवअधिकार आयोगले रविको मानवअधिकार हनन गरिएको तर्कलाई पुष्टि गरेको छ ।