काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन् । मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकामा खुसी व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै तराईमा सिँचाइको स्थायी समाधान खोजिने बताएका हुन् ।
तराईमा आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको बताएका छन् ।
वर्षासँगै सुक्खाले संकटग्रस्त मधेस प्रदेशमा रोपाइँ सुरु भएकोमा प्रशन्न भएका प्रधानमान्त्री ओलीले धेरै महिला सहभागी भएर रोपाइँ गरेको तस्बिरसहित देश र जनतालाई अभिवादन गर्दै भनेका छन्, ‘यस वर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईका खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो, जहाँ रोपाइँ भयो, त्यहाँ पानीको अभावले रोपो मर्न थालेको थियो, किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेकाबेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो ।’