रुकुमपश्चिमको आठबिसकोट नगरपालिका- १४ पिपलचौरमा भएको टिपर दुर्घटनामा परी ठूलीभेरी नदीमा बेपत्ता भएका तीनजनाकै शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका- ३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका- ८ स्यालापाखाका २० वर्षीय हरि विकको शव फेला परेको हो । तीन जनाकै शव फरक फरक दिन सुर्खेतमा फेला परेको हो ।
यति बिल्डर्स प्रा।लि।मा जेसिभि अपरेटर पदमा कार्यरत धनवीरको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- २ स्थित भेरी नदी किनारमा आइतबार बेलुका भेटिएको थियो। टिपर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव भने यसअघि नै सुर्खेतको भेरीगङ्गा नगरपालिका- २ खोचीस्थित भेरीनदी किनारमा फेला परेको थियो।
गत मंगलबार साँझ आठबिसकोट नगरपालिका- १४ पीपलचौरस्थित भेरी कोरिडोर सडकखण्डबाट यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर भेरी नदीमा खसेको थियो।