रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका-१० झिन्चौरमा नयाँ बिद्यालय भवनको शिलान्यास गरिएको छ । आज बुधवार नगरपालिकाको झिन्चौरमा रहेको जनता माध्यामिक बिद्यालय को नयाँ भवन निर्माणको लागी शिलान्यास गरिएको हो ।
बुधबार आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि केसी र उपप्रमुख धन कुमारी शाहीले संयुक्त रूपमा बिद्यालय भवनको शिलान्यास गर्नुभएको हो । 
डिएन सी इन्फ्रास्ट्रक्चर प्रालीले निर्माण गर्न लागेको उक्त भवन २०८३ असोज २४ गते सम्म सम्पन्न गर्नुपर्ने छ । एडिबी (Asian Development Bank) को ८० प्रतिशत आर्थिक सहयोग , नेपाल सरकारको २० प्रतिशत र आठबिसकोट नगरपालिकाको सहकार्यमा नयाँ बिद्यालय भवन बन्न लागेको बरिष्ठ शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो । बिष्टका अनुसार भुकम्प पछिको पुननिर्माणको लागि व्यवस्थित र सुरक्षित बिद्यालय निर्माण हुन लागेको बताउनुभयो ।
बैशाख ५ गते सम्झौता भएको बिद्यालय भवन निर्माणका लागी ३८ करोड ६४ लाख ९७ हजार ८ सय ६१ भ्याट बाहेकको रुपैयाँ सम्झौता गरिएकोमा ४ करोड ५५ लाख १४ हजार २ सय ४० रुपैयाँ बिद्यालय सँग सम्झौता गरेर भवन निर्माण कार्य सुरु गरिएको निर्माण कम्पनीका इन्जिनियर दिपेश पन्डितले जानकारी दिनुभयो । इन्जिनियर पन्डितका अनुसार १२ वटा कोठा भएको तीन तले भवन बन्न लागेको बताउनुभयो ।
शिलान्यासमा बोल्दै नगरप्रमुख रवि केसीले भन्नुभयो, हामी सबै जान्दछौं कि शिक्षाले समाज परिवर्तन गर्छ। तर शिक्षा तब मात्र प्रभावकारी हुन्छ, जब विद्यार्थीहरू सुरक्षित, समुचित र प्रेरणादायी वातावरणमा सिक्न पाउँछन्। यही सोचका साथ, यो नयाँ भवन निर्माणको योजना ल्याएका हौँ । यो केवल एउटा संरचना मात्र होइन, यो हाम्रो समुदायको समृद्धि, शिक्षा र भविष्यप्रतिको प्रतिबद्धताको प्रतीक हो । भवन निर्माण कार्यमा पारदर्शिता, गुणस्तर र समयको विशेष ख्याल गरिनेछ। म सम्पूर्ण समुदाय, अभिभावक र विद्यालय व्यवस्थापनलाई यो कार्यमा साथ र समर्थनका लागि अनुरोध गर्दछु।
प्रमुख केसीले निर्माण कार्य पारदर्शी, गुणस्तरीय र तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
विपद उत्थानशिल बिद्यालय परियोजना अन्तर्गत आठबिसकोट नगरपालिका भित्र ७ वटा बिद्यालय भवन निर्माण हुन लागेका छन्। जस अनुसार जनता मावि झिन्चौर, सुर्योदय मावि होली, ज्ञानोदय मावि चौतारा, बालकल्याण मावि राडी, नेपाल राष्ट्रीय मावि गत्तशैना, जनकल्याण मावि गोइरी र आदर्श मावि ज्यामिरकोटमा एकै साथ नयाँ भवन निर्माण हुने भएका हुन्।
बिधालयको नयाँ भवन निर्माणपछि सेवा प्रवाह र सहज बातावरणमा पढाई हुने प्रधानाध्यापक पुर्ण चन्दले बताउनुभयो । शिलान्यास कार्यक्रममा नगरप्रमुख सहित उपप्रमुख धन कुमारी शाही, प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम, बरिष्ठ शिक्षा अधिकृत इन्द्र बहादुर बिष्ट, पुर्वाधार शाखा प्रमुख कमल बुढाथोकी , प्रधानाध्यापक पुर्ण चन्द लगायत विव्यस पदाधिकारी को उपस्थिती रहेको थियो ।