कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सेन्सरयुक्त सौर्यबत्ती जडान गरिएको छ । हिमालयन नेचरलगायतका संस्थाद्वारा सञ्चालित कनेक्ट परियोजनाअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीहरूमा सौर्यबत्ती जडान गरिएका हुन् ।
हिमालयन नेचरका कार्यक्रम संयोजक श्रीराम घिमिरेका अनुसार, जङ्गली जनावर बस्तीमा प्रवेश गर्ने मुख्य नाकाहरूमा रातको समयमा उज्यालो हुने व्यवस्था मिलाउन बत्ती जडान गरिएको छ ।
“सौर्य बत्ती साँझ परेपछि आफैँ बल्ने र बिहान उज्यालो हुँदा निभ्ने सेन्सरयुक्त प्रविधिमा आधारित छ,” उनले भने । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गठित सुनदेवी र त्रिशक्ति उपभोक्ता समितिको सहकार्यमा वडा नं १ देखि ७ सम्मका १० स्थानमा बत्ती जडान गरिएको छ । परियोजनाअन्तर्गत यस कार्यका लागि करिब रु १० लाख खर्च गरिएको छ ।

सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर बिष्टका अनुसार हात्ती, चित्तल, नीलगाईजस्ता जनावरहरू रातिका बेला बारम्बार बस्ती छिर्ने भएकाले उज्यालो भएपछि तिनीहरू तर्केर भाग्ने गर्दछन् ।
स्थानीय किसानले खेतबारीमा लगाएको तरकारी, अन्नबाली जोगाउन सौर्यबत्तीले सहयोग पुर्याउँदै छ । “मध्यवर्ती क्षेत्रका किसानहरू निकुञ्जबाट आउने वन्यजन्तुका कारण बर्सेनि अन्नबालीमा क्षति भोग्दै आएका छन्,” उनले भने, “विशेषतः वर्षा सुरु हुनुअघि भारतीय दुधुवा नेसनल पार्कबाट चुरे क्षेत्रमा पुग्ने हात्तीका बथानले भौतिक र मानवीय क्षति पुर्याउने गरेको छ ।”