रुकुम पश्चिमको आठबिसकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालाहरुको क्षमता विकास कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो ।
आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न क्षमता विकास सम्बन्धि अभिमुखीकरण सुरु गरिएको हो । उक्त कार्यक्रमको मुख्य प्रशिक्षक चितवनस्थित नारायणी नमूना माविका पूर्व प्रधानाध्यापक पूर्ण प्रसाद दवाडी रहेका छन्।
आज देखि राडीज्युला शिक्षा क्याम्पसको सभाहलमा भएको उक्त कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्षहरु, नगरपालिका भित्र सञ्चालित सबै तहका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नगर शिक्षा समितिका सदस्यहरुको सहभागिता रहेको छ ।
आठबिसकोट नगरपालिका मेयर रबि केसीले नगरपालिकाले शिक्षा क्षेत्रबाट स्पष्ट शैक्षिक विकासको कार्यदिशा निर्माण गरेर व्यवस्थित रुपमा शैक्षिक विकासका कार्यक्रम ल्याउन चाहेको बताए । उनले शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष गम्भिर भएर लाग्नुपर्ने बताए ।
त्यस्तै उपमेयर धनकुमारी शाहीले शैक्षिक गुणस्तर सुधारका लागि हरेक क्षेत्रबाट सबैले कोसिस गर्नुपर्ने बताईन्। शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्टले आठबिसकोट नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि सबै तहबाट शिक्षामा सिप सहितको लगानी गर्नुपर्ने बताए ।