रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि साढे ७६ करोड बजेट सभामा पेस गरेको छ । १८ औँ नगर सभामा आज नगर उपप्रमुख धनकुमारी शाहीले ७६ करोड ३८ लाख ६९ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन।
नगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चालु तर्फ ४९ करोड ३४ लाख ३२ हजार अर्थात् ६४.६० र पुँजीगत तर्फ २७ करोड ४ लाख ३७ हजार अर्थात् ३५.४० प्रतिशत गरी कुल बजेट विनियोजन गरिएको हो ।
आगामी वर्षका लागि अनुमान गरिएको कुल बजेटको खर्च बेहोर्ने शीर्षकहरू मध्ये आन्तरिक राजश्वबाट २ करोड ५० लाख, स्थानीय तह राजस्व बाँडफाँड (घर जग्गा रजिस्ट्रेसन शुल्क मालपोत)४० लाख, सङ्घीय सरकार वित्तीय समानीकरण अनुदानबाट १२ करोड ४३ लाख, सङ्घीय सशर्त अनुदानबाट (चालु) तर्फ २५ करोड ९६ लाख, सङ्घीय सशर्त अनुदान (पुँजीगत) तर्फ ५ करोड ३१ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
राजस्व बाँडफाँटबाट १२ करोड ७४ लाख ३४ हजार ७ सय २० रुपैयाँ, सङ्घीय समपूरक अनुदानबाट ६७ लाख, सङ्घीय विशेष अनुदानबाट २ करोड ३८ लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ४७ लाख ८२ हजार, प्रदेश राजस्व बाँडफाँटबाट ३१ लाख ३७ हजार ६ सय ३० रुपैयाँ ८७ पैसा र प्रदेश सरकार सशर्त अनुदान (चालु) तर्फ २२ लाख ८२ हजार, सशर्त अनुदान (पुँजीगत)तर्फ ३ करोड ६० लाख आउने बजेट वक्तव्यमा उल्लेख छ।