आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ स्थित कालिका मावि सुन्दरपानीमा विद्यालयको प्रधानाध्यापक बन्न किर्ते कागजपत्र तयार गरेर प्रस्ताव पेश गरेको भेटिएको छ ।
उक्त विद्यालय को प्रधानाध्यापक बन्न किर्ते कागजको सहारा, लिएर शिक्षक दौडमा रहेका छन्। किर्ते कागजात बनाउँदै प्रअका लागि निवेदन समेत पेश गरेको तथ्य उज्यालोपाटीले फेला पारेको छ। कालिका मावि सुन्दरपानीकै प्रधानाध्यापक जय बहादुर बटालाले नक्कली निर्णय पत्र, र झुटा स्वामित्वका कागज र अन्य नक्कली सिफारिस तयार गरी शिक्षा युवा तथा खेलकुद शाखामा पेश गरेको पाईएको हो । २०७६ साल मंसिर १७ गतेदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका बटालाले फेरी पनि बिधालय व्यवस्थापन समिति , अभिभावक र शिक्षकहरुले आफु लाई नै प्रधानाध्यापक का लागि चुनेको झुटो निर्णय पेश गरेका हुन्।
प्रधानाध्यापक बटाला भन्छन, आफुले पुरानै बैठकको निर्णयलाई नयाँ प्रस्तावका रुपमा पेश गरेको हो। शिक्षा शाखाले प्रस्ताव माग गरे अनुसार पुरानै प्रस्तावलाई पेश गरिएको उनको भनाई छ । तर निर्णय पुरानै भएपनी मिति भने केरमेट गरेर सच्याइएको छ ।
प्रधानाध्यापक बन्ने नाममा विद्यालय व्यवस्थापन समिति को नै किर्ते हस्ताक्षर जोडिएको घटनाले शिक्षामा चरम अनियमितता भएको उजागर गरेको छ । उज्यालोपाटीको खोजअनुसार, व्यवस्थापन समितिका सदस्यहरूको र शिक्षक प्रतिनिधिको जानकारी बिना नै बैठक निर्णय बनाई, सदस्यहरूको पुरानै हस्ताक्षर नक्कली रूपमा प्रयोग गरी मिति सच्याएर शिक्षा शाखामा प्रस्ताव पेस गरेका हुन्। यस्ता प्रस्तावमा न यथार्थ बैठक बसेको प्रमाण छ, न त सम्बन्धित व्यक्तिहरूको स्वीकृति ? यो घटनाले देखाउँछ की अब शिक्षा क्षेत्र पनि व्यक्तिगत लाभका लागि किर्ते कागजको व्यापारमा परिणत हुँदैछ।
विद्यालय व्यवस्थापन समितिका एक सदस्यले नाम नखुलाउने सर्तमा उज्यालोपाटी लाई भने, “हामीले कहिल्यै प्रधानाध्यापक बनाउने सम्बन्धी निर्णय गरेको छैनौँ।, तर पछाडि थाहा भयो , हाम्रा नाम र हस्ताक्षर प्रयोग गरेर प्रस्ताव पेस भइसकेको रहेछ।” अर्का एक शिक्षक भन्छन, बैठक पनि बसेको छैन्। मैले पनि हस्ताक्षर गरेको छैन्। पुरानै माइन्युटलाई मिति सच्याएर हामीलाई जानकारी समेत नगरी प्रस्ताव लिनुभएछ । यो सरासर झुटो र किर्ते कागज हो ।
यस प्रकारका किर्ते हस्ताक्षर प्रयोग गरी तयार गरिएका निर्णयपत्रहरू नक्कली कागजात, शिक्षक विवरण र आर्थिक स्रोतसाधनको झूटो विवरणसहित पठाइने गरेको पाइएको छ। स्थानीय तहका अधिकारीहरूले घटनाबारे गम्भीर चासो व्यक्त गरेका छन्। आठबिसकोटका नगरपालिकाका अनुसार, “किर्ते कागजात र हस्ताक्षर प्रयोग गरेर प्रस्ताव पेस गरिएको पुष्टि भएमा ती विद्यालय र संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याईने जनाइएको छ । “शिक्षा जस्तो पवित्र क्षेत्रलाई व्यक्तिगत लाभ र अफिलिएसनको राजनीति गरेर किर्ते कागजातको भरमा विकृत बनाउने छुट कसैलाई छैन्। र यस्तो प्रवृत्तिको अन्त्य हुनैपर्छ।”
विद्यालय हाक्नेहरूले शिक्षा होइन, खेलवाड गरेर शिक्षामा ब्यापार गरिरहेका छन्। किर्ते हस्ताक्षर र निर्णय सहितको प्रस्ताव शिक्षा शाखामा पेश भएको जानकारी पाएपछि उज्यालोपाटीले सुचना माग गर्दा समेत सुचना लुकाउन खोज्नुले शिक्षा शाखाको समेत मिलेमतो भएको प्रष्ट देखिन्छ । बरिष्ठ शिक्षा अधिकृत तथा आठबिसकोटका सुचना अधिकारी इन्द्र बहादुर बिष्टलाई पटक पटक सुचना माग गर्दा पनि सुचना दिएनन्। जेठ २९ गते सुचनाको माग गरेर निवेदन दिएपछि असार १ गते बिष्टले सुचना उपलब्ध गराए । यसरी १ महिना सम्म किर्ते कागज लुकाएर सुचना गुपचुप राख्न खोज्नु नै शिक्षा शाखाको समेत मिलेमतो हुनसक्ने आशंका गरिएको छ । संविधानले समेत प्रष्ट पारेको नागरिकको सुचनाको हक लाई कुन्ठित पार्न खोज्नु सुचना अधिकारी आफैमा गैरजिम्मेवारी बन्नु हो ।
स्रोतका अनुसार शिक्षा शाखामा एक महिना पहिले नै प्रस्ताव आएको थियो । गत जेठ ४ गते निवेदन पनि लेखिएको थियो । तर शिक्षा शाखाले उक्त प्रस्ताव गुपचुप पारेर राखेपछी सोधखोज गर्दा घटना बाहिरिएको हो ।
किर्ते कागज गर्दा भुलेका तथ्यहरु
विद्यालय विकास प्रस्ताव पेश गर्दा विव्यस अध्यक्ष सहित सदस्य , जनप्रतिनिधि र शिक्षक प्रतिनिधिको उपस्थितिमा बैठक बस्नुपर्छ । बैठकबाट विद्यालय प्रस्ताव पेश गर्ने सम्बन्धमा निर्णय हुनुपर्छ । तर यहाँ अघिल्लो वर्ष २०८० सालको निर्णयलाई २०८१ बनाएर बैठक नै नबसी किर्ते गरिएको छ । बैठकको सुरुमा ८० लाई २०८१ साल बनाईएको छ । भने निर्णयहरुमा निर्णय नम्वर १ मा २०८० साल नै लेखिएको छ । त्यस्तै निर्णय नम्वर २ मा २०८२ साल देखि विद्यालय व्यवस्थित तरिकाले सञ्चालन गर्ने उल्लेख गरिएको छ । यसमा २०८१ लाई चलाखीपुर्ण २०८२ बनाएर एउटै बैठकमा ३ वटा मिति राखेर किर्ते गरेको प्रष्ट देखिएको छ । 

त्यस्तै अर्को तथ्य हो मृतक व्यक्तिको हस्ताक्षर , विव्यस समितिका एक सदस्यको मृत्यु भैसकेपछि पनि बैठकमा उपस्थिति भएर हस्ताक्षर गरेको पाईएको छ । जबकी ती सदस्य बैठक बसेको मितिमा काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको मृत्यु भयो । तर यता उनकै पुरानो हस्ताक्षर प्रयोग गरेर आफुलाई प्रधानाध्यापक बनाउन मृत्यु भैसकेको मानिस समेत राजी भएको उल्लेख गरिएको छ ।
स्रोतका अनुसार उक्त विद्यालय यस अघिपनि प्रधानाध्यापककै विषयमा विवाद आएको थियो । फेरी पनि उनै प्रअ आफुले आफुलाई सक्षम सावित गर्दै रातारात किर्ते कागजपत्र तयार पारेर प्रधानाध्यापक बन्ने दौडमा छन्।
किर्ते कागजपत्र बनाउनेलाई के छ कानुनी व्यवस्था?
किर्ते कागजपत्र (नक्कली वा झूठा कागजात) बनाउने, प्रयोग गर्ने वा अरूलाई प्रयोग गर्न लगाउने कार्य गम्भीर फौजदारी अपराध हो। नेपालमा यस्ता कार्यहरूका लागि नेपालको फौजदारी संहिता, २०७४ ले कडा सजायको व्यवस्था गरेको छ । कानुनी व्यवस्था अनुसार दफा २७६ – किर्ते कागजात बनाउने वा यदि कसैले नक्कली कागजात बनाउँछ, अरूको कागजमा झूठो विवरण राख्छ वा अरूको नक्कली हस्ताक्षर गर्छ, त्यो अपराध मानिन्छ भने दफा २७७ – अनुसार कसैले त्यस्तो किर्ते कागज प्रयोग गर्छ, बुझाउँछ वा देखाउँछ, उसले पनि अपराध गरेको ठहरिन्छ्।
शिक्षा ऐन २०२८ अनुसार व्यवस्थापन समितिले सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदमा नियुक्तिको लागि योग्य स्थायी शिक्षकहरूमध्येबाट दरखास्त आव्हान गर्ने र दरखास्त आव्हान भएमा सम्बन्धित शिक्षकले व्यवस्थापन समितिले तोकेको म्यादभित्र विद्यालय विकास प्रस्ताव सहित व्यवस्थापन समिति समक्ष दरखास्त दिन सक्ने व्यवस्था छ ।
प्राप्त विद्यालय विकास प्रस्ताव सहितको दरखास्त व्यवस्थापन समितिले शिक्षक छनौट समिति समक्ष पठाउने र विद्यालय विकास प्रस्ताव सहितको दरखास्त प्राप्त भएपछि शिक्षक छनौट समितिले उल्लिखित आधारमा मूल्यांकन गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई प्रधानाध्यापकको पदमा नियुक्ति गर्न व्यवस्थापन समिति समक्ष सिफारिस गर्नुपर्ने उल्लेख छ । तर यहाँ विव्यसको बैठक बिनै स्वघोषित प्रस्ताव तयार पारिएको छ ।
कालिका माविमा किर्ते निर्णय र हस्ताक्षर भेटिएपछी स्थानीय तह र अभिभावक आक्रोशित बनेका छन्। शिक्षा क्षेत्रमा बढ्दो किर्ते संस्कारले सम्पूर्ण प्रणालीमाथि नै प्रश्न उठाएको छ ।
नोट : उज्यालोपाटी विशेष रिपोर्ट पढ्नु भएकोमा धन्यवाद। यदि तपाईंको क्षेत्रमै यस्ता अनियमितता , भ्रष्टचार भैरहेका छन् भने, हामीलाई जानकारी दिनुहोस्। हामी खोजी गर्छौं, आवाज उठाउँछौं। ujyalopati2024@gmail.com र 9841308540 मा पठाउनुहोस ।