कर्णाली प्रदेशले ३२ अर्ब ९९ करोडको बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले माओवादीको असहमतिपछि मध्यराति ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको हो।
आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले प्रस्तुत गरेको बजेटमा कुल विनियोजनमध्ये चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार अर्थात् २३।६४ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०।५५ प्रतिशत बजेट विनियोजन भएको छ।
यस्तै, वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख अर्थात् १।८६ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३।९५ प्रतिशत विनियोजन गरेको आर्थिक मामिला तथा योजनामन्त्री शाहले बताए।
आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति, कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन गर्न चालु आर्थिक वर्षको बजेट विनियोजनको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ।
असार १ गते राति १२ बजेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार दलहरुबीच सहमति जुटाएर कर्णाली सरकारले प्रदेश सभामा बजेट पेस गरेको हो।
असार १ गते दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभा बैठक सत्ता पक्ष र प्रतिपक्षबीच विवाद भएपछि बजेट भाषण राति १२ बज्नु केही समयअगाडिबाट मात्र सुरु भएको थियो।
दिनभर दलहरूबीच सहमति जुट्न नसक्दा कर्णालीमा बजेट सार्वजनिक हुन सकेको थिएन।
सरकारले आगामी आर्थिक वर्षको बजेट भौतिक पूर्वाधार, कृषि, पर्यटन तथा उद्योगमा जोड दिइएको छ।
कर्णाली सरकारले चालू आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोडको बजेट ल्याएको थियो। जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड अर्थात् ५९.७ प्रतिशत र चालूतर्फ ७ अर्ब ५७ करोड अर्थात् २४.१२ प्रतिशत छ।