गृहमन्त्री रमेश लेखकको कार्यकालमा उनको कुर्सी मोह र कार्यशैलीबारे विभिन्न कोणबाट आलोचना र प्रश्न उठेका छन्। उनले सार्वजनिक रूपमा सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्धिको यात्रामा सरकार अग्रसर रहेको दाबी गरे पनि व्यवहारमा उनको नेतृत्वमा गृह मन्त्रालय विवादमा मुछिएको छ।
भिजिट भिषामा गृह मन्त्रालयमै सेटिङ भएको तथ्य बाहिरिए पछि मन्त्री लेखकको सडक देखि सदन सम्म बिरोध भयो । पटक पटक संसद अवरुद्ध भैरहेको छ । तर गृहमन्त्री लेखकलाई भने कुर्सी नै प्यारो छ । आरोप लागेपछि पदबाट राजीनामा दिएर छानबीनका लागि सघाउनुपर्छ भनेर अरुलाई उपदेश दिने लेखक अहिले आफैमा आरोप लाग्दा गृहको कुर्सी च्यापेर बसिरहेका छन्। विपक्षी दलहरुले राजीनामा माग गरेपनी सत्तारुढ एमाले काँग्रेसले उनले राजीनामा दिनुनपर्ने निष्कर्स निकालेका छन्।
गृहमन्त्री लेखकको कार्यशैलीप्रति कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ। प्राकृतिक विपत्तिको समयमा उद्धारमा ढिलाइ, समन्वयको अभाव, र निर्णय प्रक्रियामा कमजोरी देखिएको भन्दै पार्टीका नेताहरूले आलोचना गरेका छन्। केही महिना पहिले विशेष गरी नख्खु खोलामा उद्धारमा ढिलाइ भएको घटनामा उनले सेनाले हेलिकप्टर नपठाएको गुनासो गरे पनि, कांग्रेस सांसदहरूले उनलाई जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएका छन् ।
त्यति मात्रै होइन । गृहमन्त्री लेखकमाथि सत्ता पक्षका नेताहरूलाई जोगाउन र विपक्षीहरूलाई दबाउन गृह प्रशासनको दुरुपयोग गरेको आरोप लागेको छ। सहकारी ठगी प्रकरणमा सत्तापक्षका नेताहरूलाई उन्मुक्ति दिइएको र विपक्षीहरूलाई संगठित अपराधको मुद्दा लगाइएको देखिएको छ। यसले प्रहरी अनुसन्धानको निष्पक्षतामाथि समेत प्रश्न उठाएको छ। यस अघि पनि मुलुकमा बाढीपहिरोले जनधनको क्षति भइरहँदा गृहमन्त्री लेखक भने आफू निकटलाई सर्वोच्च अदालतमा न्यायाधीश बनाउनतिर लागिपरेका थिए। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयलाई सिफारिस गराउन लेखकको दबाब थियो, जसले पार्टीभित्रै विवाद सिर्जना गर्यो ।
गृहमन्त्री रमेश लेखकको कार्यकालमा सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त भए पनि व्यवहारमा उनको नेतृत्वमा गृह मन्त्रालय विवादमा मुछिएको छ। सत्ता संरक्षण, निष्पक्षता अभाव, र न्यायालयमा हस्तक्षेपजस्ता आरोपहरूले उनको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएका छन्। यसले उनको कुर्सी मोह र कार्यशैलीबारे गम्भीर बहसको विषय बनेको छ।