आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा आज भन्दा ७ वर्ष पहिला निर्माण सम्पन्न भएको नर्सरी बसपार्क सञ्चालनमा आउन सकेको छैन । २०७९ माघ २१ गते शनिबार आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले एक कार्यक्रमका बीच बसपार्क औपचारिक रुपमा सञ्चालनमा आएको घोषणा गरेका थिए। त्यसपछी उक्त बसपार्क सुनसान बन्यो । केहिदिन एक दुई वटा गाडीहरु पार्किङ गरियो तर बसपार्क निरन्तर रुपमा सञ्चालनमा आउन सकेन ।
नर्सरीमा बसपार्क निर्माण भएको झण्डै ८ वर्ष बित्यो । औपचारिक रुपमा सञ्चालनमा आएको पनी दुई वर्ष नै बित्यो । तर सवारी साधनहरु अझैँपनी बजार क्षेत्रको बिच सडकमै पार्किङ गरिहेका छन्। नगर प्रमुख रवि केसीले नगरको कार्ययोजनाको प्राथमिकताको सूचीमा बसपार्क रहेको र सरोकारवालासँगको बैठकले गरेको निर्णयअनुसार बसपार्क सञ्चालनमा ल्याईएको भन्दै उद्घाटन गरेका थिए । रिवन काटेपछि नै ठप्प भएको बसपार्क अझैँपनी सञ्चालनमा आउन सकेको छैन्।
पुरानो बसपार्क अर्थात नर्सरीमा गाडी पार्किङ गर्न असुरक्षित ठानिएपछी यातायात व्यवसायीहरुले उक्त बसपार्कमा पार्किङ गर्न छोडे अहिले ठाटीखोला नजिकै अर्को सुविधा सम्पन्न काउन्टर र आवास सहितको बसपार्क निर्माण भएको छ । तर नगरपालिकाको मुल गेट र बजार क्षेत्रमा यातायातका साधनहरु गन्जागोल अवस्थामा छन्। बजार क्षेत्रमै दुई वटा बसपार्क हुँदा पनि सडक छेउमा पार्किङ गर्दा जोखिम बढ्दै गएको स्थानीयबासीको गुनासो छ । स्थानीय व्यापारी नरेश भन्छन, बसपार्कमा गाडीहरु पार्किङ गराउन नसक्ने सरकारले विकास गर्छ भनेर कसरी पत्याउनु? सडकमै जिप, ट्रक, ट्याक्टर, अटो र ठुला गाडीहरु पार्किङ गरेर आधि सडक मिचिएको छ । तर सरकार मौन छ । पालिकाकै अगाडी को सडक बसपार्क बनाएर मनपरी पार्किङ गरिरहेका छन्।
जिल्लाको सदरमुकाम मुसिकोटदेखि आठबिसकोटको राडीबजार सडक यातायात सेवा सुरु भएको १४ वर्षपछि बसपार्क सञ्चालनमा ल्याईएको थियो । तर उक्त बसपार्क उद्घाटनमै सिमित रह्यो । बजार बाट करिव एक किलोमिटर टाढाको दुरीमा २ वटा बसपार्क निर्माण गरिएको छ । तर दुबै सञ्चालन मा आएका छैनन्। दुई बर्ष अघि बसपार्क नियमित सञ्चालन हुने भनेपनी कागलाई बेल पाक्यो हर्ष न बिस्मात झै बनेको छ ।
लामो समयदेखि बसपार्क सञ्चालनमा नआउँदा जथाभावी पार्किङले बजार क्षेत्रमा भीड बढेर दुर्घटनाको जोखिम र बजार क्षेत्र कुरुप हुँदै गएको छ । सो समस्या समाधानका लागि स्थानीय सरकारले नियमित रुपमा बसपार्क सञ्चालनमा ल्याउनुपर्ने बासिन्दाको भनाई छ । बजार क्षेत्रमा जथाभावी पार्किङ गरे यातायात व्यवसायीलाई कारबाही गरिने नगरपालिकाले जनाएपनी हालसम्म कुनै कारबाही नगरिएको बताईन्छ ।