आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गरे कारबाही हुने भएको छ । आठबिसकोट नगरपालिकाले एक सूचना जारी गर्दै पालिकाका विभिन्न स्थानमा गैरपेट्रोलियम व्यावसायिक व्यक्ति तथा पसलहरूले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्दै आएकाेमा त्यस्ताे कार्यमा रोक लगाउन लागेको हो ।
पेट्रोलियम पदार्थहरूको खरिद, बिक्री र वितरण गर्ने कार्य कानुनबमोजिम इजाजत प्राप्त व्यवसायीहरूले मात्र गर्न पाउने व्यवस्था रहेको भए तापनि पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरूमा गैरपेट्रोलियम व्यवसायी तथा सर्वसाधारणहरूले अवैध रूपमा पेट्रोल, डिजेललगायतका अति प्रज्ज्वलनशील पदार्थहरू बिक्री–वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
नगरपालिकाले अवैध बिक्री–वितरण पूर्ण रूपमा निषेध गरिएको जनाएको छ । अबको ७ दिनभित्र सबै गैरकानुनी रूपमा सञ्चालित पेट्रोलियम कारोबार बन्द गर्नुपर्ने निर्देशन दिएको छ । गुनासो बढ्दै गएपछि पालिकामा पेट्रोलियम पदार्थको अवैध कारोबारलाई निरुत्साहित गर्न तथा सम्भावित दुर्घटना रोक्न र कानुनी प्रक्रियालाई सुदृढ बनाउन यस्तो निर्देशन जारी गरिएको सुचना अधिकारी इन्द्र बहादुर बिष्टले बताए ।