कांग्रेस नेता एवं नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका डा. केदार नरसिंह केसी ले सरकारी जग्गा हडपेको आरोप लागेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोक नजिकै रहेको सरकारी जमिन केसीले कब्जामा लिएको बताईएको छ । उनले झण्डै ९ आना सरकारी जग्गा मिचेर आफ्नो निजी कम्पाउन्ड बनाएको भन्दै गत बुधवार संसद्मा आवाज उठेपछि उनले सरकारी जग्गा दुरुपयोग गरेको विषय बाहिरिएको हो ।
नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६२ नेपाली कांग्रेसका नेता केसीले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयहरूको गुनासो र उजुरीका बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको गुनासो छ । 
यता तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जनले समेत काँग्रेस नेता केसीले सरकारी जग्गा कब्जा गरेको भन्दै अख्तियारमा उजुरी दिएका छन्। मेयर महर्जनका अनुसार कित्ता नम्वर ६३ क्षेत्रफल २६३.६१ रहेको जग्गा सरकारी भएको र केसीले आफ्नो कब्जामा लिएको पत्रमा उल्लेख गरिएको छ । सरकारी जग्गा छुट्याउन अनुरोध गर्दा आफुलाई उल्टै तेरो हैसियत अनुसार कुरा गर भनेर आफुलाई धम्काएको मेयर महर्जनको भनाई छ ।
केसीले राजनितिक शक्तिको भरमा नेवार समुदायको चिहान मिचेर आफ्नो पकटमा लिएको मेयर महर्जनको दाबी छ । केसीले हडपेको उक्त सार्वजनिक जग्गा संरक्षणका लागी तारकेश्वर नगरपालिकाका मेयर महर्जनले अख्तियारलाई नगरपालिकालाई निर्देशन जारी गर्न अनुरोध गरेका छन्। अख्तियारले सो सार्वजनिक जग्गा संरक्षणका लागी नगरपालिकालाई निर्देशन दिएमा उक्त जग्गा फिर्ता ल्याउन सहज हुने मेयर महर्जन बताउँछन्। 
गत फागुन २८ गते संसदमा केसीले सार्वजनिक जग्गा कब्जा गरेको आवाज उठेपछी रास्वपा र काँग्रेसका सांसदहरु विच संसदमै भनाभन भएको थियो । संसदमा विषय उठेपछी बाहिरिएको जग्गा कब्जा प्रकरण कांग्रेस नेता अर्जुन नरसिंह केसीका भाई केदार ले आफ्नो निजी कम्पाउन्ड बनाएर सरकारी जग्गा हडपेको पाईएको छ । मालपोत कार्यालय मनमैजुले समेत काँग्रेस नेता केसीले सरकारी जग्गा मिचेको पत्रमा खुलाएको छ । तर नेता केसी आफु चोखिन बिभिन्न बहाना बनाउँदै राजनैतिक शक्तिको आडमा संरक्षण पाईरहेको स्थानीयको गुनासो छ ।