नेकपा (बुहमत) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) दाङले घोराही उप-महानगरपालिका १४, स्थित शुभ प्रभात माध्यमिक विद्यालयको जग्गा अवैध रूपमा कब्जा गरिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । शुभप्रभात माविको जग्गा भुमाफियाको संलग्नतामा ग्यालेक्सी एकेडेमीले हडपेको भन्दै ग्यालेक्सी एकेडेमीलाई आईतवार ध्यानाकर्षण पत्र बुझाईएको हो ।
अखिल (क्रान्तिकारी) दाङका संयोजक नरेन्द्र बि.क. नेतृत्वको टोलिले बुझाईएको ध्यानाकर्षण पत्रमा विद्यालयको जग्गा भुमाफियाहरुको दबाब र ग्यालेक्सी एकाडेमीका व्यक्तिहरूसँगको प्रत्यक्ष संलग्नतामा कब्जा गरिएको र अन्य व्यक्तिलाई भाडामा दिइएको कुरा गम्भीर आरोपको रूपमा प्रस्तुत गरिएको छ।
पत्रमा भनिएको छ कि, “यसरी विद्यालयको जमिन कब्जा गरेको कुरा हाम्रो लागि कुनैपनि हालतमा स्वीकार्य हुँदैन।” अखिल (क्रान्तिकारी) ले विद्यालयको जमिन एक हप्ता भित्र खाली गरी यसको संरक्षण गर्ने वातावरण मिलाउन सबै पक्षलाई आग्रह गरेको छ। संगठनले यदि उक्त समयसीमाभित्र समस्या समाधान नगरेको खण्डमा अन्य कडाइका साथ कारबाही अगाडि बढाउने चेतावनी पनि दिएको छ।