मकवानपुरमा छोराको हत्या अभियोगमा आमा बुवा पक्राउ परेका छन्। जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमायालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुमाथि आफ्नै ३१ वर्षीय छोरा भरतकुमार ब्लोनलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ। पारिवारिक विवादमा कुटाकुट हुँदा तिनै जना घाइते भएका थिए। जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो।
उनको उपचारका क्रममा गत शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको हो । छोरा र बाबुआमाबीच सम्पत्ति भागबण्डाका विषयमा प्रायः घरझगडा पर्दै आएको प्रहरीले जनाएको छ।