लघुबित्तिय संघर्ष समितिले ऋण मिनाहाको माग गर्दै थप आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने भएको छ । संघर्ष समितिले सोमवार आगामी चैत ५ गते काठमाडौंमा हुने आन्दोलन तयारीका लागि दाङको तुलसीपुरमा बित्तिय ऋणी सदस्यहरूलाई प्रशिक्षण दिएको थियो । लघुबित्त संस्थाहरूले देशभरिका लाखौं ग्राहकलाई विभिन्न किसिमका ऋण दिएका छन्, भने जसका कारण सामान्य जनतालाई वित्तीय आतंकको सामना गर्नुपरेको छ। अत्यधिक व्याजदर र ऋणको चपेटामा परेको जनताले आफ्ना घरपरिवारको भरणपोषणका लागि संघर्ष गर्नुपर्ने स्थिति उत्पन्न भएको छ।
बित्तिय पीडित सदस्यहरूलाई प्रशिक्षण गर्दै लघुबित्तिय संघर्ष समितिका लुम्बिनी प्रदेश कमान इन्चार्ज रमेश सेन्चुरीलेे लघुबित्तहरूको मापदण्ड र ब्याज दर अत्यधिक बृद्विले गर्दा धेरै परिवार ऋण तिर्न नसक्दा मान्छे आत्महत्या गर्न बाध्य भएको र मानसिक यातनामा सहनु परेको बताएका थिए । त्यस्तै नेपालका कुनै पनि राजैनितिक दलहरूले बित्तिय पीडितहरूको समस्यामा चासो नदिएको गुनासो गरेका थिए । लघुबित्तिय संस्थाहरूले ऋण दिदा एक लाख ऋण स्वीकृत गर्ने र ऋणीका हातमा ८० हजार थपाउने र ऋणीलाई एकलाख कै किस्ता तिराउने गरेको उनको भनाई थियो ।
लघुबित्तिय आतंकको विरोधमा विभिन्न स्थानका नागरिक र ऋणग्रस्त परिवारले संघर्ष समिति गठन गरेर ऋण मिनाहाको आन्दोलन सुरु गरेका छन्। समितिका प्रतिनिधिहरूका अनुसार, लघुबित्त संस्थाहरूले अत्यधिक ब्याज दर लगाएर सामान्य जनतालाई आर्थिक रूपमा झेल्न नसक्ने स्थितिमा पुर्याएको बताइएको छ।
संघर्ष समितिको मुख्य माग भनेको ऋण मिनाहा र लघुबित्त संस्थाको ब्याज दरमा कमी गर्नु हो। प्रशिक्षणमा सहभागीहरूले सरकारी निकायसँग यो विषयमा ध्यानाकर्षण गराउन र ऋण माफीको नीति लागू गर्न जोड दिएका छन्। संघर्ष समितिका प्रतिनिधिहरूले यस अघि पनि ऋण मिनाहा कै बिषयमा सरकारको ध्यानाकर्षण गराउन विभिन्न ठाउंहरूमा प्रदर्शन र धर्ना पनि गरेका छन्।