आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ राडी मैडाडा सडकको राडीपाखा खण्डमा निमार्ण गरिएको गुणास्तरहीन नाला स्थानीय र प्राविधिकले भत्काएका छन् । नाला निमार्ण गुणास्तरहीन भएको ब्यापक जनगुनासो बढेपछि प्राविधिक टोलीले उक्त गुणास्तरहीन नाला भत्काएर पुन गुणास्तरयुक्त नाली निमार्ण गर्न ठेकेदारलाई निर्देशन दिइएको छ ।
सहरी विकास कार्यालयका प्राविधिक निराजन ओलिको प्राबिधिक टोली ले नाला निमार्णको अनुगमन गर्न पुग्दा नालामा गुणस्तरहिन काम भएको पाइएको थियो । नाला निमार्णमा कंक्रीट आवश्यकता अनुसार प्रयोग नगरिएको, पिपिसि गर्दा सामान्य मापदण्ड समेत पालना नगरेकोले नाला भत्काएर पुन निमार्ण गर्न ठेकेदार पक्षलाई निर्देशन दिएको प्राविधिक खड्काले जानकारी दिए । २० मिटर भन्दा बढी नाला भत्काइएको छ ।
पटक पटक उक्त नाला गुणस्तरहिन भएको स्थानीयले आवाज उठाउदा पनि स्थानीय सरकारको कुनै चासो नदेखाएको स्थानीय युवा ललित चन्दले उज्यालो पाटीलाई जानकारी दिए। नाला निमार्ण गुणास्तरहीन देखिएकोले प्राविधिक टोलिले भत्काएर गुणास्तरयुक्त नाला निमार्ण निर्देशन दिएको चन्दले बताए । आफ्नै नगरपालिका भित्र भैरहेका गुणस्तरहिन कामहरुको बारे अनुगमन समेत नगर्ने र विकास निर्माणमा नगरपालिकाले खेलाँची गरेको उनको भनाई छ ।
प्राबिधिक खड्काले उक्त नाला निमार्णमा प्रयोग भएका सामाग्री गुणास्तरहीन भएको बताए । गौरीशंकर निर्माण कम्पनीले ठेक्का लिएको उक्त सडकमा रुकुम पश्चिमका सन्देश पुनले पेटीमा काम गरिरहेका छन्। स्थानीय कामदारले समेत नालामा गुणस्तर छैन्। भनेपछी ठेकेदारले कामदारलाई समेत धम्काएको बताईएको छ । यस अघि पनि गौरीशंकरले बगरमा गुणस्तरहीन काम गरेको पाईएको थियो ।