आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जनप्रतिनिधि, उपभोक्ता समिति र कर्मचारी बिच भएको वादविवाद को सहमति भएको छ । माघ २८ गते वडा नम्वर १० का वडाअध्यक्ष गणेश शाह सहित उपभोक्ता समितिले नगरपालिकाको लेखा प्रशासनमा तोडफोड गरेपछि उत्पन्न बिवादका कारण नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको थियो । पालिकामा असुरक्षित भएको महसुस गर्दै नगरपालिकामा कार्यरत कर्मचारीहरु आन्दोलित भएका थिए ।
आज नगर प्रमुख रवि केसीको नेतृत्वमा एक सहमति पत्र सार्वजनिक गर्दै उक्त्त विवाद लाई अन्त्य गरिएको छ । सहमति पत्रमा भनिएको छ । वर्षात पछि ग्रामिण मोटरबाटोको सरसफाई गरेको विषयमा वडा नम्वर १,८,१० र १३ मा गरिएको अनुगमन प्रतिवेदनमा नगर उपप्रमुख धन कुमारी शाहीले लागत इस्टिमेट बमोजिम ४० प्रतिशत मात्र भुक्तानी गर्न सकिने व्यहोरा गलत भएको र त्रुटि देखिएकाले शाहीले क्षमायाचना गरेको उल्लेख गरिएको छ । मर्मत गरेको सडकको अहिले सम्म भुक्तानी नभएको र नगरपालिकाले अनुगमनका क्रममा ४० प्रतिशत मात्रै काम सम्पन्न भएकोले सोही बराबरको भुक्तानी लैजान भनेपछी विवाद भएको थियो । तर आज फेरी सहमति पत्रमा बजेट अभावका कारण पहिलो चरणमा ४० प्रतिशत रकम भुक्तानी दिने भनिएको भनेर बताईएको छ ।
नगरपालिकामा बजेट अभावका कारण ४० प्रतिशत भुक्तानी हुनुपर्नेमा काम नै ४० प्रतिशतको भएको भन्ने उपप्रमुख शाहीको टिप्पनी गलत भएको सहमति पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै आर्थिक प्रशासनमा तोडफोड गर्ने जनप्रतिनिधी र उपभोक्तालाई क्षतिपूर्ति भराउने गरी क्षमायाचना गरेको बताईएको छ । शाखामा भएको क्षति सम्बन्धित व्यक्ति बाट असुल गरिने जनाएको छ । फेरी पनि नगरपालिकामा कार्यरत कर्मचारी माथि अभद्र व्यवहार र धम्कि दिने कार्य भएमा कानुनन बमोजिम कारबाही गरिने भन्दै जनप्रतिनिधिको तर्फबाट नगरप्रमुख रवि केसीले माफी मागेका छन्। पत्रका अनुसार कार्यालयमा असुरक्षित वातावरण सिर्जना गर्ने, अनुचित दबाब धम्कि, भौतिक आक्रमण र कार्यालय तोडफोड जस्ता कार्य गर्न नदिने प्रतिबद्धता सहित नगर प्रमुख रवि केसीले क्षमायाचना गरेका छन्।
दुई दिन पछि आज ३० गते कर्मचारी र जनप्रतिनिधि विच सहमति भएको हो । गत माघ २८ गते वडा नम्वर १० का वडाअध्यक्ष गणेश शाह सहित उपभोक्ता प्रेम बहादुर थापा र दिपक विकको समुहबाट लेखा शाखामा तोडफोड भएको थियो । बर्षातको समयमा मर्मत गरेको सडकको हालसम्म पनि भुक्तानी नपाएपछि उपभोक्ताले लेखा शाखामा तोडफोड गरेका थिए ।