काठमाडौँ । गत बिहिवार काठमाडौं को ठमेलमा ड्युटीमा खटिएका प्रहरी माथि कुटपिट गर्ने नेकपा एमाले निकट विधार्थी संगठन अनेरास्ववियुका नेतालाई उन्मुक्ति दिन खोजिएको छ । केशरमहल विट बाट ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दार नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीलाई निर्घात कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीसहितको समूह लाई प्रहरीले पक्राउ गरेको थियो ।
कुटपिटमा संलग्न रहेका डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल पक्राउ परेका छन् । फुलारा ठमेल स्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् । सिग्देल अनेरास्ववियु अमृत साइन्स क्याम्पस कमिटी सदस्य हुन् । तर कुटपिटको मुख्य नेतृत्व गरेका जोशीलाई भने प्रहरीले अनुसन्धानको दायरामा नल्याएको बुझिएको छ । उज्यालोपाटी सँगको कुराकानीमा एक प्रहरी अधिकृतले भने भिडियोमा कुटपिट मा संग्लन देखिएको नदेखिएकोले मुद्धा नचल्ने भएको हो ।
प्रहरीलाई कुटपिट गरेको भिडियोमा भने जोशीले कुटपिट रोक्न खोजेको जस्तो देखिन्छ । तर प्रहरी माथि नै आक्रमण गर्नेलाई प्रहरी बिभागले जोगाउन खोजेको अधिकारीहरुको भनाई छ । एउटै घटनामा संलग्न अन्य पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी गरिएको छ । पक्राउ परेका दुई जनाबाहेक नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाहीविरुद्ध पनि पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका पाँचजना सँगै रहेका जोशीविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छैन । पक्राउ परेकाहरु माथि दरबार मार्ग प्रहरीले अनुसन्धान गरिरहेको छ ।