आठबिसकोट । सहकारीको ऋण नतिरेपछी रुकुम पश्चिमका दुई पालिका प्रमुख सहित सहकारीका ८७ जनाको ५५० कित्ता जग्गा मालपोत कार्यालय रुकुम पश्चिमले रोक्का राखेको जनाएको छ । असुल उपर गर्नको लागि कोषको सचिवालयबाट पटक पटक मौखिक र लिखित ताकेता गर्दा पनि कोषमा रकम प्राप्त हुन नसकेकोले घर, जग्गा जमिन रोक्का गर्न गत भदौ पहिलो साता मालपोत कार्यालयलाई पत्राचार गरेपछि रोक्का रहेको बताईएको छ ।
मुसिकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसी र सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर बिष्टको सम्पत्ति रोक्का भएको छ । मुसिकोट नगरपालिका –१ को हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्य बहादुर गिरी, उपाध्यक्ष महेन्द्र केसीसहित ९ जनाको ३४ कित्ता अचल सम्पत्ति रोक्का भएको हो । यस सहकारीले २०७२ असार २८ मा ५२ लाखकोे कर्जा सम्झौता गरी ५२ लाख नै निकासा लिएको थियो तर भुक्तानी अवधि नाघिसक्दा कोषलाई बुझाउनुपर्ने रकम साँवा, ब्याज र हर्जना समेत गरेर आठ लाख ६० हजार ४९१ रुपियाँ तिरेको छैन । यो सहकारीको सञ्चालक समिति उपाध्यक्ष केसी मुसिकोट नगरपालिकाको प्रमुख छन्।
त्यस्तै सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर बिष्टको पनी सम्पति रोक्का भएको छ । सानीभेरी गाउँपालिका –३ को सानीभेरी जनप्रवाह कृषि सहकारी संस्था को अध्यक्ष बिर्खबहादुर बिष्ट, उपाध्यक्ष भुपालसिंह ओली लगायत १३ जना सहकारी सञ्चालकको ४६ कित्ता अचल सम्पत्ति रोक्का भएको छ । यो सहकारीको नाममा रहेको जग्गा र घर समेत रोक्का छ । यो सहकारीले कोषसँग २०७२ साल चैत्र १७ गते ५२ लाख कर्जा सम्झौता गरेर ५२ लाख नै निकाशा भएको थियो । यो सहकारीका अध्यक्ष बिष्ट र उपाध्यक्ष ओली सानीभेरी गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्ष छन ।
दुबै जना पालिका प्रमुखले आफुहरुले सहकारी छोडिसकेको प्रतिक्रिया दिएका छन्। जनप्रवाह कृषि सहकारी संस्थाका तत्कालिन अध्यक्ष एवम् सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले आफू सहकारीको अध्यक्ष हुँदा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट ५२ लाख कर्जा लिएको र कोषबाट ल्याएको उक्त रकम माओवादी, कांग्रेस, एमालेका कार्यकर्ता र केहि सर्वसाधारणलाई व्यवसाय सञ्चालनको लागि ऋण दिएको तर आफुले ८ वर्ष पहिले सहकारी छोडिसकेको बताएका छन्।