आठबिसकोट नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको राडी बजार–पसाने, क्याम्पस रोड सडक कालोपत्रेको काममा ठप्प भएको छ । ठेक्का सम्झौता मिति सकिदा पनि डक कालोपत्रे (पिच) निर्माणको काम ठप्प छ । नगरपालिकास्थित राडीबजारदेखि भेरी करिडोर भेरी नदीको पुल जोड्ने चार किलोमिटर दुरीभित्र सडक कालोपत्रेको काम हुँदै आएको छ । निर्माण कम्पनीका अनुसार अहिले सडक कालोपत्रे कार्यका लागि बजेट नभएकाले काममा समस्या आएको हो । पिचको अन्तिम चरणमा रहेको उक्त सडकमा अहिले काम ठप्प भएको छ ।
आठबिसकोट–९ राडी बजारस्थित बजार क्षेत्र, क्याम्पस रोड र पसाने सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको गोर्खा मंगलदीप जेभीले समयमै सडक पिच नगर्दा सडक धुलाम्मे भएको छ । सडकमा थुपारिएका गिट्टी माटोले दुर्घटनाको जोखिम निम्त्याउनुका साथै धुलाम्मे सडक बनिरहेको स्थानीय बासिन्दाको भनाई छ ।
उक्त सडक कालोपत्रे गर्नका लागि २०८० वैशाख १४ गते भ्याटसहित कुल २० करोड ७९ लाख ४६ हजार रुपैयाँमा मंगलदीप कम्पनीले सम्झौता गरेको थियो । कम्पनीका लागि काम सक्ने अन्तिम अवधि २०८१ भदौ १४ सम्म रहेको छ । आठविसकोट नगरपालिकाको केन्द्रसमेत रहेको उक्त सडक खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेर रोकिएको छ । भेरी करिडोर बाहेक आठबिसकोट नगरपालिकामा अहिले सम्म १ किलोमिटर सडक पनि कालोपत्रे भएको छैन ।