आठबिसकोट । जाजरकोटका सबै स्थानीय तहमा हुलाक कार्यालय स्थापना भएका छन्। सरकारले हुलाकको पुनः संरचना अन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै जाजरकोटमा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो।
जाजरकोटका ७ वटा पालिकामा ६ वटा हुलाक कार्यालय र एक जिल्ला हुलाक सहित एउटा हुलाक काउन्टर गरेर जिल्लाभर ८ वटा हुलाक कार्यालय सञ्चालनमा ल्याईएको जिल्ला हुलाक कार्यालय जाजरकोटका निमित्त हुलाक अधिकृत जसिराम केसीले जानकारी दिए । केसीका अनुसार यस अघि एउटा पनि हुलाक कार्यालय नभएका पालिकामा कार्यालय स्थापना गरी सेवा दिरहेको बताए ।
प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम प्रत्येक पालिकामा हुलाक कार्यालय स्थापना हुने भएपछी सेवाग्राहीलाई थप सहज भएको छ । चिठीपत्र आदानप्रदान , पत्रपत्रिका नविकरण, लोककल्यानकारी विज्ञापन को भुक्तानी, प्रेस प्रतिनिधि कार्ड लगायतका कार्यहरु जिल्ला हुलाक कार्यालय मार्फत हुँदै आएका छन्।
यस अघि जाजरकोट सबै पालिकामा हुलाक कार्यालय स्थापना भएको र कुशे गाउँपालिकामा बाँकी रहेकाले आज आइतवार कुशेमा कार्यालय स्थापना सँगै जिल्लाका सबै पालिकामा हुलाक कार्यालय सञ्चालनमा आएका हुन्। कुशे गाउँपालिकामा आज निमित्त हुलाक अधिकृत जसिराम केसीको सभापतित्त्व र गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको प्रमुख आतिथ्यता र उपाध्यक्ष देविका कुमारी सिंह को विशेष आतिथ्यतामा एक कार्यक्रमका विच कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालय जाजरकोटले जनाएको छ ।
त्यस्तै कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाही वडा अध्यक्ष , हुलाक कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षा प्रतिनिधि लगायत अन्य सर्वसाधारणहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन जिल्ला हुलाक कार्यालय जाजरकोटका सूचना अधिकारी देवेन्द्र प्रसाद शर्माले गरेका थिए ।