दाङ । नवलपरासी को वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका-१ का २० वर्षीय अमृत न्यौपाने लाई पाटेबाघ मारेको आरोपमा पक्राउ गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले पक्राउ परेका न्यौपानेलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निकुञ्जका अनुसार उक्त गाउँपालिका-१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौँ अल्झेको जस्तो देखिने तार एक थान फेला परेसँगै अनुसन्धानका क्रममा पाटेबाघको रौँ भएको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको हो ।
न्यौपानेलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २६ उपदफा (५) घ बमोजिम कसुर गरेकाले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको बताईएको छ ।