जाजरकोट । जाजरकोटमा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ। सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै जाजरकोटमा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।
जाजरकोटका ७ पालिकामा एक जिल्ला हुलाक र अन्य ४ वटा हुलाक कार्यालय सञ्चालनमा छन्। प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम अब जुनेचाँदी गाउँपालिका र कुशे गाउँपालिकामा कार्यालय स्थापना गर्ने प्रक्रियामा रहेको जिल्ला हुलाक कार्यालय जाजरकोटका निमित्त हुलाक अधिकृत जसिराम केसीले जानकारी दिए । केसीका अनुसार यस अघि एउटा पनि हुलाक कार्यालय नभएका पालिकामा कार्यालय स्थापना गरी सेवा दिरहेको बताए ।
मंसिर ९ गते छेडागाड नगरपालिकाको चंखिलामा हुलाक कार्यालय स्थापना भइ सञ्चालनमा आइसकेको जिल्ला हुलाक कार्यालय जाजरकोटले जनाएको छ । सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको निमित्त हुलाक अधिकृत केसीले जानकारी दिए ।
प्रत्येक पालिकामा हुलाक कार्यालय स्थापना हुने भएपछी सेवाग्राहीलाई थप सहज भएको छ । चिठीपत्र आदानप्रदान , पत्रपत्रिका नविकरण, लोककल्यानकारी विज्ञापन को भुक्तानी, प्रेस प्रतिनिधि कार्ड लगायतका कार्यहरु जिल्ला हुलाक कार्यालय मार्फत हुँदै आएका छन्।