वीरगन्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्च्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) भित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको तथा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार राति उक्त क्यासिनोमा नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जुवा खेल्ने कार्यमा संलग्न नौ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोषकुमार यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दीपक साह रहेका छन्।
त्यस्तै, पर्सागढी गाउँपालिकाका २६ वर्षीय दिनेश साह, बाराको कलैया उपमहानगरपालिकाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिण गाउँपालिकाका २७ वर्षीय विनोद कुमार र काठमाडौँको शङ्खरापुर (साँखु) नगरपालिकाका ४० वर्षीय राजेश श्रेष्ठ पनि जुवा खेल्ने क्रममा नियन्त्रणमा लिइएका छन्।
यसैगरी, नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलकप्रसाद भट्ट, वीरगन्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दीपकराज पराजुली रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।