शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी हटाउने उद्देश्यले अध्यादेशमार्फत विश्वविद्यालयसम्बन्धी ऐन संशोधन गर्न लागिएको भन्दै सुदूरपश्चिम प्रदेशका विद्यार्थी संगठनहरूले विरोध जनाएका छन् ।
अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति र अनेरास्ववियु सुदूरपश्चिम प्रदेश समितिले बुधबार जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको स्वायत्तता, संस्थागत स्थायित्व र शैक्षिक विकासमा प्रतिकूल असर पर्ने कुनै प
नि निर्णय नगर्न आग्रह गरेका हुन् ।
विद्यार्थी संगठनहरूले विश्वविद्यालयका लागि निर्धारण गरिएको ९० सिट कुनै पनि बहानामा कटौती वा खारेज नगर्न तथा शैक्षिक कार्यक्रम तत्काल अघि बढाउन माग गरेका छन् ।
ज्ञापनपत्रमा विश्वविद्यालयको स्थापना सुदूरपश्चिम प्रदेशका जनताको दशकौँदेखिको संघर्ष, त्याग, प्रतिभा र आकांक्षाको प्रतिफल भएको उल्लेख गरिएको छ । लामो प्रयास र निरन्तर संघर्षपछि २०८३ असोज ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकबाट एमबीबीएसलगायत स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रमका लागि कुल ९० सिट निर्धारण हुनु विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासको ऐतिहासिक उपलब्धि भएको उनीहरूको भनाइ छ ।
त्यस्तै, विश्वविद्यालयको ऐन, नियम र स्थापित विधि तथा प्रक्रियाअनुसार खुला प्रतिस्पर्धाबाट नियुक्त भएका पदाधिकारीलाई प्रतिशोधपूर्ण ढङ्गले पदमुक्त गर्ने उद्देश्यले अध्यादेशमार्फत ऐन संशोधन गर्ने प्रयास तत्काल रोक्न विद्यार्थी संगठनहरूले माग गरेका छन् । ऐन संशोधन आवश्यक भए त्यसको स्पष्ट कारण, उद्देश्य र औचित्य सार्वजनिक गरी विश्वविद्यालयका सरोकारवाला पक्षसँग पर्याप्त परामर्श तथा कानुनी प्रक्रिया पूरा गरेर मात्र अघि बढ्नुपर्ने उनीहरूको माग छ ।
ज्ञापनपत्रमा विश्वविद्यालयको वर्तमान संस्थागत संरचना, पहिचान र विश्वविद्यालयकै रूपमा विकास गर्ने मूल उद्देश्यमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्नसमेत सरकारको ध्यानाकर्षण गराइएको छ ।
विद्यार्थी संगठनहरूले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभई सुदूरपश्चिमवासीको साझा सपना, हजारौँ विद्यार्थीको भविष्य र समग्र राष्ट्रको स्वास्थ्य शिक्षा तथा शैक्षिक विकाससँग जोडिएको राष्ट्रिय महत्त्वको संस्था भएको उल्लेख गरेका छन् ।
विश्वविद्यालयको उपलब्धिमाथि हस्तक्षेप गर्ने, निर्धारित सिट कटौती गर्ने, संस्थागत अस्थिरता सिर्जना गर्ने तथा स्वायत्तता र पहिचान कमजोर पार्ने कुनै पनि प्रयास तत्काल रोक्न उनीहरूले सरकारसँग आग्रह गरेका छन् । माग सम्बोधन नभए विद्यार्थी, अभिभावक, नागरिक समाज तथा समग्र सुदूरपश्चिमवासीको सहभागितामा शान्तिपूर्ण र सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
ज्ञापनपत्रमा अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिका तर्फबाट वीरबहादुर थापा र अनेरास्ववियु सुदूरपश्चिम प्रदेश समितिका तर्फबाट रोहित बोगटीले हस्ताक्षर गरेका छन् । ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ ।