काठमाडौँ।भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।
भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। राष्ट्रपति भवन परिसरमा आयोजित समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए।
प्रधानमन्त्री शाह आइतबार भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन्।
भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री शाहले विभिन्न उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय कार्यक्रममा सहभागिता जनाउने कार्यतालिका रहेको छ।
निर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री शाह बिहान १०ः४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन्। त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ।
दुई नेताबीचको भेटपछि बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ। उक्त वार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित र विभिन्न क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने कार्यक्रम छ।
त्यसैगरी, दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र दुवै देशका प्रधानमन्त्रीले सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्री शाह दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्। त्यसपछि दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
भारत भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह आजै स्वदेश फर्किनेछन्।