नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न सरकारले सिफारिस गरेको अध्यादेश प्रमाणित नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग माग गरेको छ।
सरोकारवाला पक्षसँग सामान्य परामर्शसमेत नगरी सरकारले अध्यादेशमार्फत ऐन संशोधन गर्न खोजेको भन्दै महासंघले प्रस्तावित कानुनी व्यवस्थाप्रति गम्भीर आपत्ति जनाएको हो।
महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा संसदीय प्रक्रियामार्फत मिडिया काउन्सिल विधेयक अगाडि बढाउन खोजिएको अवस्थामा अकस्मात् अध्यादेश ल्याउन खोज्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भएको उल्लेख गरेको छ।