एजेन्सी – केभिन डे ब्रुएनको दुई उत्कृष्ट गोलमा बेल्जियमले युइएफए नेसन्स लिगमा टर्किएलाई ३–० ले हराएको छ।
बेल्जियमको जितमा डे ब्रुएनले पहिलो हाफ र दोस्रो हाफमा एक–एक गोल गरे। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले पनि गोल गरेपछि बेल्जियमका मुख्य प्रशिक्षक मार्क भान बोमेलले घरेलु मैदानमा पहिलो जित दर्ता गरे।
खेलको १०औँ मिनेटमा डे ब्रुएनले डोडी लुकेबाकियोसँग पास आदानप्रदान गर्दै गोल गरेपछि बेल्जियमले अग्रता लिएको थियो। उनले टर्किएका डिफेन्डर अब्दुलकेरिम बर्दाक्चीको खुट्टामुनिबाट बल निकाल्दै पोस्टको दायाँतर्फ तल्लो कुनामा गोल गरेका थिए।
पहिलो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। लुकेबाकियोको शक्तिशाली प्रहारलाई टर्किएका गोलकिपर उगुरचान चाकिरले पोस्टमा लाग्ने गरी बचाए। अर्कोतर्फ, जेकी सेलिकको क्रसमा मेरिह डेमिरालले गोलपोस्ट नजिकैबाट गरेको प्रहार बारमाथि गयो।
दोस्रो हाफको सुरुआतमै लुकेबाकियोको अर्को प्रहार पोस्टमा लाग्यो। त्यसपछि सेन्ने लामेन्सले युनुस अक्सुनको प्रहार बचाउँदै टर्किएलाई बराबरी गर्नबाट रोके।
खेलको ६०औँ मिनेटतिर युरी टिलेमान्सले पेनाल्टी क्षेत्रबाहिर बल खोसेर डे ब्रुएनलाई पास दिए। डे ब्रुएनले टाढाबाट उत्कृष्ट प्रहार गर्दै गोल गरे।
खेलको ७६औँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमको जित सुनिश्चित गरे। चार्ल्स डे केटेलारेको लो क्रसमा उनले सहजै गोल गरेका थिए। अन्तिम समयमा टर्किएले दबाब बढाए पनि बेल्जियमले क्लिनसिट कायम राख्यो।
मार्क भान बोमेलको नेतृत्वमा नयाँ युगको सुरुआत गरेको बेल्जियमका लागि डे ब्रुएन र लुकाकुको अनुभव निर्णायक बन्यो। मिका गोड्ट्स र लुकेबाकियोजस्ता खेलाडीले पनि नयाँ प्रशिक्षकको नेतृत्वमा प्रभाव देखाइरहेका छन्।