एजेन्सी – क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। क्याम्प छाड्नुको कारण भने उनले ‘समय आएपछि’ सार्वजनिक गर्ने बताएका छन्।
रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रिय टोलीको क्याम्प छाड्ने निर्णय गरेको जानकारी दिएका हुन्। पोर्चुगल फुटबल महासंघका अध्यक्षसँग कुराकानी गरेपछि क्याम्प छाड्ने निर्णयमा पुगेको उनले बताएका छन्।
‘राष्ट्रिय टोलीको पत्रकार सम्मेलनपछि र पोर्चुगल फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि मैले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाड्ने निर्णय गरेको छु,’ रोनाल्डोले लेखेका छन्, ‘समय आएपछि म किन क्याम्प छाड्ने निर्णयमा पुगेँ भन्ने सम्पूर्ण सत्य पोर्चुगलका जनतालाई बताउनेछु।’
उनले आगामी खेलका लागि टोलीका सहकर्मीलाई शुभकामना दिएका छन्। रोनाल्डोको क्याम्प छाड्ने निर्णय प्रशिक्षक जोर्जे जेसुससँगको असमझदारीको चर्चाबीच आएको हो। यसअघि रोनाल्डोले प्रशिक्षण गर्न अस्वीकार गरेको दाबी सार्वजनिक भए पनि जेसुसले टोलीभित्र कुनै विवाद नरहेको बताएका थिए।
नर्वेविरुद्धको खेलमा रोनाल्डो बेन्चमै बसेपछि विवादको चर्चा चुलिएको थियो। ओस्लोमा भएको खेलमा पोर्चुगल २–१ ले विजयी हुँदा रोनाल्डो मैदान प्रवेश गरेनन्। खेल सकिएपछि उनी टोलीका अन्य खेलाडीसँग समर्थकतर्फ नगई सिधै ड्रेसिङ रुमतर्फ लागेका थिए।
यसले प्रशिक्षकसँग रोनाल्डो असन्तुष्ट रहेको अड्कलबाजीलाई बल पुगेको थियो। तर डेनमार्कविरुद्धको नेसन्स लिग खेलअघि जेसुसले रोनाल्डोसँग कुनै घटना वा विवाद नभएको स्पष्ट पारेका थिए।
‘कुनै घटना नै भएको थिएन। म आफैं पनि खेलाडी थिएँ। कुनै खेलाडी २० वा ३० मिनेट वार्मअप गरेर पनि मैदानमा प्रवेश गर्न पाएन भने ऊ खुसी हुँदैन,’ जेसुसले भने।
जेसुसका अनुसार नर्वेविरुद्धको खेलअघि उनले रोनाल्डोलाई सुरुआती टोलीमा नराख्ने जानकारी दिएका थिए। खेलको अवस्था हेरेर पछि मैदानमा उतार्न सक्ने पनि उनले बताएका थिए। तर अन्ततः रोनाल्डोलाई मैदान प्रवेश नगराउने निर्णय जेसुसले गरेका थिए।
‘पछि प्रशिक्षकका रूपमा मैले उनलाई मैदानमा नपठाउने निर्णय गरेँ। यसलाई ठूलो विषय बनाउनुपर्ने कुनै कारण छैन,’ उनले भने।
मंगलबार रोनाल्डोले प्रशिक्षण गर्न अस्वीकार गरेको दाबी पनि जेसुसले अस्वीकार गरेका थिए। उनका अनुसार रोनाल्डोले ‘मोबिलिटी’ र ‘स्ट्रेन्थेनिङ’ सम्बन्धी व्यक्तिगत अभ्यास गरेका थिए र बुधबार टोलीसँग सामान्य प्रशिक्षणमा सहभागी हुने कार्यक्रम थियो।
तर डेनमार्कमा टोलीले प्रशिक्षण गर्दा रोनाल्डो भने सहकर्मीसँग मैदानमा देखिएनन्। पोर्चुगिज सञ्चारमाध्यमले उनलाई पार्केन रंगशालाबाट टोलीका दुई ब्याकरुम स्टाफसँग बाहिरिँदै गरेको भिडियो सार्वजनिक गरेका थिए।
रोनाल्डोले यसै वर्षको विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेबारे विचार गरेको बताएका थिए। तर करिअरमा १ हजार गोल पूरा गर्ने लक्ष्यका कारण उनले राष्ट्रिय टोलीमा निरन्तरता दिने निर्णय गरेका थिए।
हालको अन्तर्राष्ट्रिय विश्रामका लागि जेसुसले घोषणा गरेको २५ सदस्यीय टोलीमा रोनाल्डो समावेश थिए। उनले नेसन्स लिगअन्तर्गत वेल्सविरुद्धको पहिलो खेलमा सुरुआती टोलीबाट खेलेका थिए।
नर्वेविरुद्ध निर्णायक गोल गरेका गोन्कालो रामोसलाई जेसुसले डेनमार्कविरुद्ध पनि रोनाल्डोभन्दा प्राथमिकता दिने संकेत गरेका थिए।
‘यदि मलाई रोनाल्डोको आवश्यकता पर्यो भने उनी मैदानमा आउनेछन्। आवश्यकता परेन भने आउने छैनन्,’ जेसुसले भनेका थिए।
पोर्चुगल फुटबल महासंघले रोनाल्डोले टोली छाडेको पुष्टि गर्दै बाँकी २४ खेलाडीसहित डेनमार्क र नर्वेविरुद्धका खेलको तयारी पूर्वनिर्धारित योजनाअनुसार अघि बढ्ने जनाएको छ। महासंघका अनुसार टोलीको ध्यान आगामी खेल र निर्धारित लक्ष्यमा केन्द्रित रहनेछ।