फेक टिकटक आईडी बनाएर आपत्तिजनक सामग्री पोस्ट गरेको भन्दै रास्वपाका कार्यकर्ता लोकेन्द्र शाहीद्वारा माफी
रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका–९ स्थायी घर भई हाल मलेसियामा बस्दै आएका लोकेन्द्र शाहीले अरुको नाम र पहिचान प्रयोग गरी फेक टिकटक आईडी सञ्चालन गरेको तथा उक्त खातामार्फत आपत्तिजनक सामग्री पोस्ट गरेको भन्दै सार्वजनिक रूपमा माफी मागेका छन्। शाही रास्वपाको कार्यकर्ता हुन् । उनी मलेसिया मार्फत रास्वपाका गतिविधिहरु प्रचारप्रसार गर्दै आएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको माफी भिडियोमा शाहीले आफूले सम्बन्धित व्यक्तिको नाम तथा पहिचान प्रयोग गरी फेक टिकटक आईडी खोलेको स्वीकार गरेका छन्। उनले उक्त खातामा सम्बन्धित व्यक्तिको मौलिक भिडियोको साउन्ड म्युट गरी अपमानजनक तथा आपत्तिजनक शब्द प्रयोग गरिएको बताएका छन्।
शाहीका अनुसार उक्त फेक आईडी बनाउनुको उद्देश्य व्यक्तिगत रिसइबी वा पूर्वाग्रह नभई टिकटकमा लाइक, भ्युज तथा फलोअर्स बढाउने रहेको थियो। तर, आफ्नो कार्यका कारण सम्बन्धित व्यक्तिको प्रतिष्ठा, व्यक्तिगत मर्यादा तथा सामाजिक र पारिवारिक जीवनमा असर परेको महसुस गरेको भन्दै उनले क्षमा मागेका छन्।
माफी भिडियोमा शाहीले आफूले गरेको कार्य गलत भएको स्वीकार गर्दै आगामी दिनमा कसैको नाम, फोटो, पहिचान वा व्यक्तिगत विवरण दुरुपयोग गरी फेक सामाजिक सञ्जाल खाता सञ्चालन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, कसैको चरित्रमा आँच आउने, बदनाम गर्ने, डर–धम्की दिने, ब्ल्याकमेल गर्ने वा ह्यारेसमेन्ट गर्ने गतिविधिमा संलग्न नहुने बताएका छन्।
उनले भविष्यमा यस्ता गतिविधि दोहोरिएमा सम्बन्धित व्यक्तिले प्रचलित कानुनअनुसार सम्बन्धित निकायमा उजुरी तथा कानुनी प्रक्रिया अघि बढाउन सक्ने विषयमा आफूलाई आपत्ति नरहेको पनि भिडियोमा बताएका छन्।
शाहीले आफूले उक्त कार्य कसैको दबाब वा डर–त्रासमा नभई स्वेच्छाले स्वीकार गरेको दाबी गर्दै सम्बन्धित व्यक्ति र उनको परिवारसँग निःशर्त माफी मागेका छन्। उनले आफूले गरेको कार्यप्रति पछुतो रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्।
आठबिसकोट १२ कि निरुता पुन मगरले आफ्नो तस्वीर दुरुपयोग गरेर सामाजिक सञ्जालमा चरीत्र हत्या गरेको व्यक्ति लाई माफी दिएकी छन् । फेक टिकटक आईडी प्रकरणमा सम्बन्धित व्यक्तिले आफूले एकपटकका लागि आममाफी दिएको तर त्यसलाई आगामी दिनमा त्यस्ता गतिविधि सहने प्रतिबद्धताका रूपमा नलिन चेतावनी दिएकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै उनले भनेकी छन्, “माफी आजको निर्णय हो, फेरि सहने प्रतिबद्धता होइन।”
उनले मानवताको नाताले सम्बन्धित व्यक्तिको छोरी तथा आमाबुवाको अवस्था सम्झेर आफूले एकपटक गल्ती सुधार्ने अवसर दिएको बताएकी छन्। साथै, आफूले प्रतिशोधको बाटो रोज्नुको सट्टा आफ्नै मानवता र संस्कारलाई प्राथमिकता दिएको उनको भनाइ छ।
उनको प्रतिक्रियामा भनिएको छ, “तिमी दानव निस्किएता पनि मानवताको नाताले मैले तिम्रो छोरी र तिम्रो आमाबुवाको मुख हेरेर, यसै गल्तीबाट आफूलाई सुधार्ने मौका दिई एकपटकलाई माफी गरिदिएकी छु। मैले मभित्रको मानवता र संस्कार बचाएको हुँ।”