रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट ५ गोतामकोट मिग्रीमा मा ३७ औँ भाद्र पूर्णिमा मेला आयोजना हुने भएको छ। आयोजकले मेला अवसरमा सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक कार्यक्रमसँगै विभिन्न प्रतियोगितात्मक गतिविधि सञ्चालन गर्ने जनाएको छ।
मेलाको मुख्य आकर्षणका रूपमा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार रुपैयाँ, दोस्रोले ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन ७ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ। प्रत्येक खेलमा सहभागी टिमबाट १५ प्रतिशत कर कट्टा गरिने आयोजकले जनाएको छ।
मेलामा स्थानीय नाचअन्तर्गत पैसेरी नाच, मयूर नाच र सिङ्गारु नाच लगायतका सांस्कृतिक प्रस्तुति पनि रहनेछन्।
आयोजकका अनुसार मेला ११ गते उद्घाटन हुनेछ। प्रतियोगितामा सहभागी हुने टिमले खेलाडी दर्ता, टिम क्याप्टेन तथा टिम लिडरको विवरणसहित आवश्यक कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। खेलाडीले आफ्नो नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने र खेलाडीको विवरण आयोजकले आवश्यकताअनुसार रुजु गर्न सक्ने जनाएको छ।
आयोजक समितिले खेलाडी तथा दर्शकलाई सहभागी भई मेलालाई सफल बनाउन आग्रह गरेको छ।
आयोजक समितिका अध्यक्ष तुफान भण्डारी बादशाह रहेका छन् भने संयोजकमा जय बस्नेत, कोषाध्यक्षमा महेन्द्र थापा, सचिवमा महेश चन्द र उपाध्यक्षमा तारा बोहरा रहेका छन्।