काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
प्रदेश कार्यसम्पादन समितिका सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा भदौ ३० गते बसेको बैठकले विभिन्न निर्णय गर्दै बाढी प्रभावितको समस्या समाधानका लागि तीनै तहका सरकारलाई आग्रह गरेको हो।
बैठकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति भएको उल्लेख गरेको छ। चितवन, गोरखा, तनहुँ तथा पूर्व–पश्चिम नवलपरासीसमेत प्रभावित भएको भन्दै बाढी प्रभावित हजारौँ नागरिक घरबारविहीन भएको अवस्थामा उनीहरूका लागि अस्थायी तथा स्थायी पुनर्वास, खाना, लत्ताकपडा, जीविकोपार्जन र मनोसामाजिक परामर्शको व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेको छ।

त्यसैगरी, बाढीमा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको खोजी कार्यलाई तीव्रता दिँदै उनीहरूलाई शीघ्र घर फर्कने वातावरण बनाउन र विपद्का कारण घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि कांग्रेस बागमती प्रदेशले माग गरेको छ।
कांग्रेसले रसुवा, धादिङ र नुवाकोटका नागरिकलाई त्रिशूली नदी वारपार गर्न सहज हुने गरी वैकल्पिक बाटो निर्माण, बेलिब्रिज तथा झोलुङ्गे पुल निर्माणको काम तत्काल अघि बढाउन आग्रह गरेको छ। साथै, दशैँअघि नै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन संघीय तथा बागमती प्रदेश सरकारसँग अनुरोध गरिएको छ।
बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
यसैबीच, कांग्रेस बागमती प्रदेशले नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने उल्लेख गर्दै महाधिवेशनलाई संवाद, सहमति, सहकार्य र एकताको भावनामा सम्पन्न गर्न प्रदेशका जिल्ला, क्षेत्र, पालिका, वडा तथा टोल तहका नेता–कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।