काठमाडौं । भदौ १० गते आएको बाढीबाट क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सात जनाको शव फेला परेको छ ।
सुरुङ तथा हेडवक्स क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीका क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।
शुक्रबार नेपाली सेना र आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको टोलीले अडिट–१ क्षेत्रको अवलोकन गर्दा सुरुङ पूर्ण रूपमा डेब्रिजले भरिएको पाइएको उद्धारकर्ताले बताएका छन् ।
यस्तै, मैलुङ क्याम्प साइटमा मिनी स्काभेटर प्रयोग गरी उत्खनन सुरु गरिएको छ । अडिट–३ क्षेत्रमा नेपाली सेना र अष्ट्रेलियाली उद्धार टोलीले खोजी गरेका छन् ।
आयोजना कम्पनीका अनुसार आजदेखि खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिइनेछ ।
बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७८ जनाको उद्धार भइसकेको छ। यसअनुसार अझै ५५५ जना सम्पर्कविहीनरबेपत्ता रहेको देखिन्छ ।