त्रिशूली (नुवाकोट)। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन्। विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाका सबै विद्यालय बन्द छन् भने बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित रहेको जनाएका छन्।
बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावक प्रभावित हुनुका साथै केही हराइरहेका छन्। विद्यालय भवन, सडक तथा पुलमा क्षति पुगेकाले आवतजावतसमेत कठिन बनेको छ। तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था नरहेको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार जनजीवन सामान्य बन्दै नदी वारपार गर्न सक्ने अवस्था भएपछि मात्रै विद्यालय सञ्चालन गरिनेछ। शिक्षा शाखा प्रमुख नवराज सापकोटाले बाढीको पूर्वसूचना प्राप्त भए पनि क्षतिको अवस्था यति ठूलो होला भन्ने अनुमान नभएकाले विद्यालयमा ठूलो क्षति पुगेको बताउनुभयो।
“केही विद्यालयले उच्च सतर्कता अपनाएका कारण ठूलो दुर्घटना हुनबाट जोगिए,” उहाँले भन्नुभयो, “अहिले जनजीवन असामान्य रहेकाले तत्काल विद्यालय सञ्चालन गर्न सकिने अवस्था छैन। परिस्थिति केही सहज भएपछि वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने योजना बनाउनेछौँ।”
त्रिशूली नदीको बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगरपालिकामा सञ्चालित ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाका अनुसार चार विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटको प्रारम्भिक विवरणअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आधारभूत विद्यालय र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका सम्पूर्ण संरचनामा क्षति पुगेको छ। ती विद्यालय तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा छन्।
त्यस्तै, उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा ब्लकमात्र सुरक्षित रहेको छ। चण्डेश्वरी माध्यमिक विद्यालयको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विद्यालय तथा पायोनियर इङ्लिस बोर्डिङ स्कुलको घेराबार आसपासमा समेत क्षति पुगेको छ।
बाढीले रामचन्द्र आधारभूत विद्यालयको एउटा र उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका दुईवटा बससमेत बगाएको छ।
किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा ठूलो क्षति नभए पनि बाढीका कारण विस्थापित नागरिकलाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। बेलकोटगढी नगरपालिकामा पनि एउटा विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ।
बेलकोटगढी–७ स्थित शिलादेवी माध्यमिक विद्यालय बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ भने वडा नं ५ को महादेव माध्यमिक विद्यालयसमेत प्रभावित भएको जनाइएको छ।