गत बुधबार आएको भोटेकोसी बाढीमा रसुवाबाट बेपत्ता भएका रुकुम पश्चिमको आठबिसकोट ७ का खम्बु बोहरा र उनकी श्रीमती कोपिला केसी सहित ८ महिनाकी नाबालिक छोरी अझैसम्म बेपत्ता अवस्थामा छन्। चार दिन वितिसक्दा पनि उनीहरु सम्पर्कमा आउँन सकेका छैनन्।
३४ वर्षका खम्बु गोसाईकुण्ड गाउँपालिका अन्तर्गत स्यार्फुबेसी स्वास्थ्य चौकीमा कार्यरत थिए। उनकी श्रीमती पनि सोही गाउँपालिकामा कार्यरत थिईन। भदौ १० गते बिहान पौने ८ बजेतिर आएको बाढीमा परेर उनको तीनैजनाको परिवार सम्पर्कबिहिन छ।
‘बाढी आउने दिन बिहान ८ बजेतिर फोनमा कुरा भएको छ। सधै झैँ घरयासी गफागफ र हालखबर सोधपुछ भयो। त्यसपछि पछि बोलौला भनेर फोन राखेको केहि मिनेटमै सम्पर्क टुट्यो। उनका भतिज शंकर बोहरा भन्छन , बाढी आउनु केहि समय अघि अङ्कल सँग राम्रै कुरा भएको थियो। एकैछिनमा तर एकाएक सम्पर्क टुट्यो आज चार दिन भैसक्यो। न सास भेटिन्छ न लास । खोजीकार्य गरिरहेका छौँ। तर भेटाउन सकिएको छैन।
अहिले फोन राख्छु पछि फोन गरौँला भनेका बोहरा सहित तीनैजना लाई बिहानै बाढीले बगाएछपछि गाउँ नै शोकमा डुबेको छ। घरपरिवार उनको पर्खाईमा छन्। रसुवामा बाढी आएको खबर पाएपछि परिवारले खम्बु सँग फोन सम्पर्क गर्ने प्रयास गरेको थियो। तर पटक-पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्।
बोहराको परिवार सकुल छन् या छैनन्। भन्ने बारे अवस्था अझै अज्ञात छ। तीनैजना सम्पर्कविहीन भएपछि अहिले बोहराको परिवार गहिरो पीडा र अन्योलमा छ। घरपरिवार तथा आफन्तहरू उनीहरू सकुशल भेटिने आशामा पर्खिरहेका छन्। एकातर्फ लगातार खोजीकार्य भइरहेको छ भने अर्कोतर्फ कुनै सकारात्मक खबर प्राप्त नहुँदा परिवारमा चिन्ता बढ्दै गएको छ।
बाढी आएको चार दिन बितिसक्दा पनि खम्बु, कोपिला र उनकी ८ महिनाकी छोरीको अवस्था पत्ता नलाग्दा आफन्तहरू थप चिन्तित बनेका छन्। उनीहरूको खोजीका लागि सम्बन्धित निकाय तथा स्थानीयस्तरबाट समेत प्रभावकारी रूपमा खोजीकार्य अघि बढाउन परिवारले आग्रह गरेको छ।
सानो उमेरकी छोरीसहित एउटै परिवारका तीन सदस्य एकैपटक सम्पर्कविहीन भएपछि रुकुम पश्चिममा रहेका आफन्त तथा स्थानीयवासीसमेत स्तब्ध बनेका छन्। परिवारले उनीहरू सकुशल भेटिने आशा अझै नछाडेको जनाएको छ।