रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ वडा कार्यालयले विपद् व्यवस्थापन तथा राहत कार्यका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
भोटेकोशी हुँदै रसुवामा आएको भिषण बाढीका कारण टिमुरे बजार हुँदै नुवाकोट,धादिङ जिल्ला र त्रिशूली, नारायणी नदीको तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएकोप्रति वडा कार्यालयले दुःख व्यक्त गरेको छ।
वडा अध्यक्ष घनश्याम भण्डारी द्वारा जारी प्रतिबद्धतापत्रमा विपद्का कारण हुनसक्ने थप क्षति न्यूनीकरणका लागि रसुवा,धादिङ, नुवाकोट, चितवन लगायतका जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान र आफू सुरक्षित रहन आग्रह गरिएको छ।
विपद्पछिको खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग गर्ने उद्देश्यले आठबिसकोट नगरपालिका–५ वडाको निर्णयअनुसार वडाको विपद् व्यवस्थापन शीर्षकमा रहेको बजेटबाट रु. ५० हजार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने प्रतिबद्धता व्यक्त गरिएको हो।
वडा कार्यालयले विपद्को समयमा सबैको सहयोग आवश्यक रहेको भन्दै सम्भावित जोखिमबाट जोगिन नागरिकलाई सतर्क रहन समेत आग्रह गरेको छ।