भोटेकोशीमा बुधबार आएको भीषण बाढीपछि कर्णालीका एक सय ३४ जना सम्पर्कविहीन भएका छन् । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि अतुलनीय जनधनको क्षति भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको यो तथ्यांक हालसम्म आफन्त तथा परिवारका सदस्यले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा टिपाएको प्रारम्भिक विवरण हो ।
सम्पर्कविहीन हुनेहरूमा कर्णालीका दस जिल्लाबाट सडक तथा जलविद्युत् आयोजनामा मजदुरी गर्न गएकाहरू धेरै छन् । साथै, अध्ययन, सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारी, सुरक्षा निकायमा कार्यरत व्यक्तिहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
हालसम्म उपलब्ध तथ्यांकअनुसार सम्पर्कविहीन हुनेहरूमा एक सय आठ पुरुष, १७ महिला, ६ बालक र तीन बालिका छन् । सम्पर्कविहीन हुनेहरूमा सबैभन्दा धेरै सल्यानका ४९ जना छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ४० पुरुष, ६ महिला, दुई बालक र एक बालिकाको अवस्था अज्ञात छ ।
सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातलीले रसुवा र नुवाकोट जिल्लामा सडक र जलविद्युत् आयोजनामा मजदुरी तथा अन्य कामको सिलसिलामा रहेका व्यक्ति परिवारको सम्पर्कमा नरहेको भन्दै विवरण टिपाउने काम जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने बताए ।
परिवार तथा आफन्तले टिपाएको विवरणअनुसार सम्पर्कविहीन व्यक्तिको अवस्था बुझ्ने प्रयास जारी रहेको उनले बताए ।