रुकुम पश्चिम । रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले संयुक्त रुकुम यातायात प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संयुक्त रुकुम यातायात प्रा.लि.ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार रुकुम लगायत विभिन्न जिल्लामा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भइरहेका बेला प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उक्त रकम सहयोग गरिएको हो।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकार, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्ने प्रालिका अध्यक्ष डम्बर थापाले बताए । अध्यक्ष थापाका अनुसार विपदको घडीमा भएको ठुलो मानविय तथा भौतिक क्षति प्रति सहयोग होस् भनि ५० हजार रुपैयाँ सहयोग गरेको बताए।
साथै संयुक्त रुकुम यातायात प्रा.लि.का अध्यक्ष डम्बर थापाले विपद्को कठिन समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जुटिरहेका सामाजिक संघ–संस्था तथा सहयोगी हातहरूलाई सहज रूपमा काम गर्ने वातावरण निर्माण गर्न आवश्यक सहयोग र समन्वय गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन्।
विज्ञप्तिमा बाढीपहिरोका कारण जनजीवन अस्तव्यस्त बनेको अवस्थामा प्रभावित क्षेत्रमा आवश्यक उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सबै सरकारी निकाय, गैरसरकारी संघ संस्था, सामाजिक संस्था, निजी क्षेत्र तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।
यसैबीच, कम्पनीले रुकुम बाट काठमाण्डौ, काठमाण्डौ -रुकुम सञ्चालन हुँदै आएको रुकुम श्री एयर स्लिपर बस सेवा समेत अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। नेपाल सरकारले बाढीका कारण यात्रा नगर्न आग्रह गरेपछि सरकारको निर्णयलाई स्वीकार गर्दै बस सेवा स्थगित गरिएको कम्पनीले जनाएको हो।
कम्पनीले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारी, गैरसरकारी, सामाजिक तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय, सहकार्य र एकताबद्ध प्रयास आवश्यक रहेको जनाएको छ। 