रसुवामा आएको भीषण बाढीका कारण रुकुम पश्चिमका १२ जना नागरिक सम्पर्कविहीन भएका छन् । हालसम्म रुकुम पश्चिमका १२ जना परिवारको सम्पर्कमा नरहेको सांसद गोपाल शर्माले जानकारी दिएका छन्।
सम्पर्कविहीन नागरिकका आफन्तबाट खबर प्राप्त भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि विभिन्न संयन्त्रसँग सम्पर्क र समन्वय भइरहेको शर्माले बताएका छन्। उनले भनेका छन् ,रसुवामा आएको बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिले सिंगो राष्ट्रलाई स्तब्ध बनाएको छ। बाढी प्रभावित क्षेत्रमा अवस्था अस्तव्यस्त बनेको छ। हामी खोजी र उद्धारका लागि सम्वनय र सहकार्य गरिरहेका छौँ ।
सांसद शर्माले रसुवा बाढीका कारण सम्पर्कविहीन भएका रुकुम पश्चिमका नागरिकबारे जानकारी आवश्यक परे आफ्नो सचिवालयको नम्बर ९८५१४२७४५७ (अभिमान विष्ट) मा सम्पर्क गर्न आग्रह गरेका छन्।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको टोल फ्री नम्बर १२३४ तथा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको टोल फ्री नम्बर १०० मा समेत सम्पर्क गर्न उनले सम्बन्धित सबैमा अनुरोध गरेका छन्।
सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक सबै संयन्त्र परिचालन गर्न समन्वय भइरहेको सांसद शर्माको भनाइ छ।