रसुवामा आएको बाढीलाई सांसद गोपाल शर्माले सबैलाई स्तब्ध पार्ने विपद्को घटनाका रूपमा उल्लेख गर्दै उद्धार र राहतमा जोडिन आग्रह गरेका छन् ।
सांसद शर्माले बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहत कार्यमा सबै पक्ष एकताबद्ध भएर जुट्न आग्रह गरेका छन्। उनले विपद्को यस घडीमा मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा आवश्यक सहयोग र समन्वय बढाउनुपर्ने बताएका छन्।
साथै, बाढी तथा पहिरोको सम्भावित जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन उनले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरेका छन्।
शर्माले सामाजिक सञ्जालमार्फत यस्तो विपद्को सामना गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको भन्दै उद्धार, राहत र सम्भावित जोखिम न्यूनीकरणमा एकजुट हुन अपिल गरेका हुन्।